काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आन्दोलन छोडेर मुलुक निर्माणको अभियानमा जुटन आग्रह गरेका छन् । नेता खनालले मुलुकको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे नेपाली काँग्रेस आफैं कमजोर हुँदै जाने दावी गरे ।
सोमबार रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौंमा आयोजना कार्यक्रममा बोल्दै उनले स्ववियू निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग माग गरेका हुन् । उनले स्ववियू निर्वाचनपछि धकेल्ने प्रयास नगर्न पनि नेपाली काँग्रेसलाई सचेत गराए ।
वरिष्ठ नेता खनालले रचनात्मक ढंगले मुलुकको आर्थिक उन्नतिको काममा केन्द्रित हुन पनि पार्टीका सबै नेता, कार्यकतालाई आग्रह गरे । मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अव आर्थिक उन्नतिको दिशामा केन्द्रित हुने बेला आएको वरिष्ठ नेता खनालको भनाई छ ।




