काठमाडौं, १३ पुस । मेलम्ची खानेपानी परियोजना झन अन्यौलमा परेको छ । मेलम्ची परियोजना सम्पन्न हुन दुइ साता मात्र वाँकी छ भनेर स्वयम खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले बताएको दुइ साता नपुग्दै ठेकेदार कम्पनी नेपाल छाडेर गएपछि अब यो परियोजना पुरा होला कि अलपत्र पर्ला भनेर नयाँ बहश प्रारम्भ भएको छ ।
यस परियोजनामा मेलम्ची देखि सुन्दरीजलसम्म २७ किलोमिटर सुरुङ खन्ने जिम्मेवारी पाएको इटालियन कम्पनी सिएमसी अचानक नेपाल छाडेर हिडेपछि मेलम्ची अलपत्र बनेको हो । यस खण्डमा ७ प्रतिशत मात्र काम वाँकी रहेको बेलामा ठेकेदार कम्पनी हिंडेको हो ।
ठेकेदार कम्पनी यसरी अचानक हिडेपछि नेपालमा भने नयाँ खालको बहश प्रारम्भ भएको छ । सरकार यतिवेला पुरानै कम्पनीलाई फेरि काम लगाउने वा नयाँ ठेकेदार कम्पनीलाई काम दिने भन्ने द्धिविधमा परेको छ ।
सरकार यसरी द्धिविधामा परेको बेलामा शुक्रवारको राष्ट्रिय सभामा वोल्ने सत्ता पक्ष तथा प्रतिपक्ष सांसदले भने सरकारकै कमजोरीको कारण मेलम्ची अनिश्चित बनेको आरोप लगाएका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले मन्त्रालयका अधिकारीबाट नै कमिसनको खेल सुरु भएका कारण ठेकेदार कम्पनी काम छोडेर भागेको आरोप लगाए ।
मेलम्ची अनिश्चित भइरहेकै बेलामा प्रमुख प्रतिपक्षी दलका सांसदले कमिशनको खेलको कारण परियोजना भाँडिएको भनेपछि यो विषय अब नयाँ विवादमा परेको छ । तर यसमा कसले कमिशनको खेल गर्यो भन्ने कुरा प्रष्ट पारिएको छैन ।
विपक्षी दलका सांसद मात्र होइन सत्तापक्ष कै सांसद दिलकुमारी रावलले समेत मेलम्ची परियोजना पुरा नहुनुको कारण सदनलाई जानकारी गराउन माग गरिन् ।
आयोजना निर्माणको समय लम्बिदै गईरहेका बेला एकाएक निर्माण कम्पनीले काम छोडेको खबरले सबैलाई दुखी र निरास बनाएको भन्दै सांसद रावलले मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्रकरण तोडिएको र पुन कायम गर्नेबारे संचार माध्यममा आएको खबरमाथिको सत्य तथ्य के हो भनेर प्रश्न गरेका थिए ।
२०५६सालमा तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइको पालामा निर्माण सुरु गरिएको मेलम्ची खानेपानी परियोजना निर्माण आरम्भ भएको २० बर्षसम्म पनि पुरा भएको छैन । उदेकलाग्दो कुरा के छ भने निर्माण सुरु भएको २० बर्षपछि पानी आउला भनेर बसेका राजधानीवासी त्यतिवेला चकित परेका छन जब पानी खान २ महिना मात्र वाँकी छ भनेर मन्त्रीले नै भनेको बेलामा ठेकेदार कम्पनी नै गायव भयो ।