काठमाडौँ, २४ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र सोमपाल कामी अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा परेका छन ।
सोमबार एपिएलका आयोजकले दुबईमा खेलाडीको सुची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । जसमा नेपालबाट पारस र सोमपाल परेपनि आइपिएल खेलिसकेका सन्दिप लामिछाने भने परेका छैनन ।
एशिया कप क्वालिफायर्सबाट स्वदेश फर्किएको नेपाली टिमका महत्वपुर्ण सदस्य सोमपाल र पारस पहिलो चरणको सुचिमा परेको बताइएको छ । ३ सय ५० भन्दा बढी खेलाडी सम्मिलित सुचीमा एसोसियट खेलाडी रोहन मुस्तफा, चिराग सुरी, केली कोट्जेर पनि रहेका छन ।
यस्तै ओमान, क्यानडा, हङकङका खेलाडी पनि ड्राफ्टमा समावेश गरिएको छ । जसमा सबै खेलाडीलाई विभिन्न ६ वटा क्याटागोरीमा राखिएको छ । आयोजकले क्याटागोरीको नाम आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसीसी एसोसियट र इमर्जिङ भनेर राखिएको छ ।
प्रतियोगितामा विभिन्न ५ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । प्रतियोगिता अक्टोबर ५ देखि २१ तारिखसम्म युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ ।




