काठमाडौं, १४ साउन । नेपाल र नेदरल्याण्ड त्रिकोणात्मक सिरिजको संयुक्त विजेता भएका छन् । इंग्ल्याण्डको लर्डसमा आइतबार राति भएका खेलमा दुवै टिमले एक–एक खेल जितेका थिए ।
मेरिलिवोन क्रिकेट क्लब (एमसीसी)लाई नेपाल र नेदरल्याण्ड्सले पराजित गरेका थिए । तर, नेपाल र नेदरल्याण्ड्सको खेल भने वर्षाले प्रभावित भएपछि दुबै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो । त्यसअघिको खेल पनि वर्षाले प्रभावित गरेपछि ६ ओभरमा खेलाइएको थियो ।
टस हारेर पहिला व्याटिङ शुरु गरेको नेदरल्याण्ड्सले १६४ रन बनाउँदा पानी पर्न शुरु भएको थियो । १६ दशमलब ४ ओभरमा पानी पर्न शुरु भएपछि स्थगित भएको खेल पुनः सुचारु हुन नसकेपछि दुबै टोलीलाई संयुक्त विजेता घोषित गरिएको हो ।
नेदरल्याण्डका वेस्ले बेरेसीले ४४ रन बनाउँदा रियान टेन डसस्केचले ३७ रन जोडे । नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले एक एक विकेट लिएका थिए । त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको थियो ।
वर्षाका कारण ६ ओभरमा झारिएको खेलमा मेरिलेबोनले दिएको ४१ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४ दशमलव ४ ओभरमा ४१ रन पूरा गरेको थियो । नेपालका सुुवास खकुरेलले नट आउट १६ रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्ल पनि १२ रनमा नट आउट रहे । नेपालका लागि ओपनर अनिल साहले ९ रन बनाए । उनले ९ बलको सामना गर्दै २ चौका प्रहार गरेका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले निर्धाति ६ ओभरमा ४ विकेटको क्षतिमा ४० रन बनाएको थियो ।