फूलमाया आले
काठमाडौं, ११ साउन । सरकारसँग विगतमा गरेको सहमति कार्यान्वयनको माग गर्दै १५ औँ पटक अनसन बसेका डा. गोविन्द केसीले अन्ततः सरकारसँग अर्को सहमति गर्दै हिजो अनसन तोडेका छन् । २०७५ सालसम्म आइपुग्दा डा. केसी चिकित्सा शिक्षा सुधारकै लागि भनेर अनसन बसेको यो १५ औं पटक थियो ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी चिकित्सा क्षेत्रमा बेथिती रहेकाले ती हटाउँदै चिकित्सा शिक्षामा सुधार ल्याउनुपर्छ भन्ने लगायतका माग राखेर २०६९ सालमा पहिलो पटक अनसन बसेका थिए । २०७५ सालसम्म आइपुग्दा डाक्टर केसी चिकित्सा शिक्षा सुधारकै लागि भनेर अनसन बसेको १५ औं पटक पुगेको छ । १५ औं पटकको अनसन जुम्लामा गएर शुरु गर्नु भएका डाक्टर केसीलाई सरकारले अनसनको २० औं दिन बल प्रयोग गरी काठमाडौं ल्याएको थियो ।
तर, काठमाडौ ल्याएपछि पनि केसी र सरकारबीचको वार्ता शुरु हुन निकै कठिन भएको थियो । पछिल्लो ६ वषर्मा सबै मुख्य दलले नेतृत्व गरेका सरकारसँग डाक्टर केसीले माग राखे र वार्ता पनि गरे । सबै सरकारले माग पुरा गर्ने प्रतिवद्धता र हस्ताक्षर पनि गरे । सहमति हुने, तर कार्यान्वयन नहुने परम्परा तोडिएको छैन । सरकारमा हुने दल उनका मागबारे मौन बस्ने र प्रतिपक्षले उनको माग जायज भएको भन्दै उक्साउने प्रवृत्ति विगतमा पनि थियो र यसपटकको अनसनमा पनि देखियो ।
१५ औँ अनसन काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौ बुँदे सहमतिसँगै २७ दिनदेखि आमरण अनशनरत डाक्टर केसीले बिहिबार मध्य रातमा अनशन तोडे्का हुन् । यो सँगै डाक्टर केसीले अनशनमा उठाउनु भएका मुख्य मागहरू करिब सम्बोधन भएका छन् । तर, यसपटक भएको सम्झौता पनि कार्यान्वयन हुनेमा भने धेरैले आशंका गरेका छन् ।




