काठमाडौं, २६ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल सुरु गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरिएको नेताहरुले बताएका छन् । बैठकले बुधबार बिहानसम्म नियमावलीलाई टुंगो लगाइसक्ने र पार्टी जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।
गत शनिबार बसेको पार्टी सचिवालय बैठकले नेताद्वय बामदेव गौतम र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरी तीन दिनभित्र नियमावली परिमार्जनका लागि आवश्यक सुझाव तयार पार्ने कार्यादेश दिएको थियो ।