संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) अन्तिम सातामा प्रवेश गरेसँगै सम्मेलनका अध्यक्ष मुरात कुरुमले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्न सहभागी राष्ट्रहरूलाई आग्रह गरेका छन् । टर्कीको अन्टाल्यामा जारी सम्मेलनका अध्यक्षसमेत रहेका टर्कीका वातावरण, शहरीकरण तथा जलवायु परिवर्तनमन्त्री कुरुमले सोमवार सिन्ह्वासँगको विशेष अन्तर्वार्तामा यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयन नगरी नयाँ घोषणा गर्नुको औचित्य नरहेको बताएका हुन् । उनले जलवायु परिवर्तनविरुद्धको प्रभावकारी कदमका लागि विद्यमान आर्थिक प्रतिबद्धता पूरा गर्नु आवश्यक रहेको बताए । सन् २०२४ मा अजरबैजानको बाकुमा भएको कोप–२९ सम्मेलनमा सन् २०३५ सम्म विकासोन्मुख देशहरूलाई वार्षिक ३०० अर्ब अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउने लक्ष्यसहित निर्णय भएको थियो । तर, उक्त प्रतिबद्धता अझै पूरा नभएको कुरुमको भनाइ छ । उनले नयाँ कोष स्थापना गर्नु वा थप आर्थिक प्रतिबद्धता घोषणा गर्नुभन्दा उपलब्ध वित्तीय स्रोतलाई प्रभावकारी परियोजनासँग जोड्नुपर्नेमा जोड दिए । यसका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा ‘क्लाइमेट इम्प्लिमेन्टेसन ब्रिज’ संयन्त्र अघि बढाइएको उनले जानकारी दिए । कुरुमले जलवायु परिवर्तनसम्बन्धी विभिन्न क्षेत्रमा चीनको भूमिकाको पनि प्रशंसा गरेका छन् । नवीकरणीय ऊर्जाको क्षेत्रमा चीन विश्वकै अग्रणी रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा चीनसँग रहेको प्रविधि र विशेषज्ञता सम्मेलनमा पारदर्शी रूपमा साझा भइरहेको बताए । दुई सातासम्म सञ्चालन हुने सम्मेलन शुक्रबार सम्पन्न हुँदैछ । सम्मेलनबाट जलवायु अनुकूलन, उत्सर्जन न्यूनीकरण तथा जलवायु वित्तका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने टर्कीको अपेक्षा रहेको कुरुमले बताए । उनले सम्मेलनमा भएका निर्णयको कार्यान्वयन, त्यसको अनुगमन र प्रतिवद्धताप्रति राष्ट्रहरूको जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिएका छन् ।




