काठमाडौं, ५ जेठ । ‘कतिलाई लाग्ला दुइटा अध्यक्ष भए, के गरेको ?’ प्रधानमन्त्री केपी ओलीले बिहीबार एमाले–माओवादी एकीकरणको घोषणासभामा भने, ‘टेम्पो चलाएजस्तो होइन, जेटमा दुइटै पाइलट हुन्छन् ।’
नवगठित ‘नेकपा’ को जेट अब ओली र प्रचण्डको संयुक्त उडानमा छ । त्यसको गन्तव्य के हुनेछ, त्यो धेरै हदसम्म यी दुई पाइलटको भावी सम्बन्धमा भर पर्छ । अहिलेसम्म उनीहरूलाई वस्तुगत बाध्यताले डोर्याउँदै एकताको विन्दुमा पुर्याएको थियो, अबको यात्राचाहिँ परिपूरकका रूपमा हुन्छ या प्रतिस्पर्धीको– नेपाली राजनीतिको यो दूरगामी प्रयोग त्यसैमा निर्भर हुनेछ ।
अन्तिम अवस्थासम्म अधिकांशलाई विश्वास थिएन– एमाले–माओवादीबीच साँच्चै एकता हुँदै छ । दुई दिनअघि त्यसको औपचारिक घोषणा गरिँदासमेत कतिपयलाई पत्यार लागेकै थिएन । नेपाली राजनीतिका चामत्कारिक मोडहरू कहिलेकाहीं यस्तै अपत्यारका बीचमा सम्भव हुन्छन् । यसपालि त्यस्तै भयो ।
सामान्य दृष्टिले हेर्दा यो दुई वामपन्थी दलहरूबीचको मिलनमात्र हो । तर यो आफैंमा सामान्य घटनाचाहिँ किन होइन भने यसका विस्तारित आयामहरू नेपाली राजनीतिमा लामै समय महसुस हुनेछन् । हिजोको बहुध्रुवीय राजनीति अब वाम र गैरवाम दुई ध्रुवमा केन्द्रित हुनेछ । त्यसमा पनि एउटा ध्रुवलाई तंग्रिन निकै समय लाग्ने देखिन्छ । यो ध्रुवीकरणले राष्ट्रिय राजनीतिलाई मात्र होइन, यहाँको भूराजनीतिलाई समेत नयाँ शिराबाट आकर्षित गर्न सक्छ । ओली र प्रचण्डले आफ्ना पुराना जहाजलाई नेकपाको नयाँ ‘ब्रान्ड’ मा किन उडाए ? यसका पछाडि उनीहरूका आ–आफ्नै हेराइ, बुझाइ र बाध्यताहरू छन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




