चीनबाट ल्याइएका विद्युतीय बस १० महिनासम्म गुडेनन्, बिग्रिने जोखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चीनबाट ल्याइएका विद्युतीय बस १० महिनासम्म गुडेनन्, बिग्रिने जोखिम

बुटवल । वातावरण प्रदूषण कम गर्न लुम्बिनीमा भित्रिएका विद्युतीय बस १० महिना बित्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भित्रिएका बस र ट्याक्सी समयमै सञ्चालन हुन नसक्दा बिग्रने जोखिम बढेको छ ।

गत वर्षको ९ मंसिरमा तीनवटा विद्युतीय बस लुम्बिनी ल्याइएको थियो भने त्यसपछि बाँकी दुई बस र १४ ट्याक्सी ६ पुसमा ल्याइएको थियो । अहिले यी सवारी साधनलाई विद्युतीय चार्जिङ स्टेशनको पार्किङमा राखिएको छ । बस कसरी सञ्चालन गर्ने भन्ने विषय नटुंगिएकाले सञ्चालनमा समस्या भएको लुम्बिनी विकास कोषले जनाएको छ । कोषका योजना प्रमुख सरोज भट्टराईले विद्युतीय बस कोषले आफै सञ्चालन गर्न नसक्ने भन्दै टेण्डर प्रक्रियामा जाने तयारी गरिएको बताए ।

चीनबाट आयात गरिएका बस र ट्याक्सी जहाज र लरीमा आउँदै डेढ महिना बढी लागेको थियो । यहाँ थन्किएको १० महिना बितेको छ । अझै एक–दुई महिनासम्म त्यत्तिकै राख्दा बिग्रने जोखिम बढेको छ । नचलाएर राख्दा बिग्रने, पाटपूर्जामा समस्या आउने र टुटफुट हुने जोखिम बढेको प्राविधिकको भनाइ छ । १० महिना हुँदा पनि पर्यटन मन्त्रालयले कोषलाई हस्तान्तरण गरेको छैन । प्राविधिक रूपमा परीक्षण भइरहेकाले समय लागेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

एसियाली विकास बैंक (एडीबी) ले पनि लुम्बिनी आएर परीक्षण गरेको छ । एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले साढे तीन करोड रुपैयाँ भन्सार शुल्क व्यहोरेको छ । विश्वलाई लुम्बिनीसँग जोड्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ओसारपसार गर्न यी बस र ट्याक्सी प्रयोग गरिने छ ।

त्यस्तै लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन यी बस र ट्याक्सी ल्याइएका हुन् । अत्याधुनिक बसमा १९ सिट छन् भने उभिएर यात्रा गर्दा ३५ जना अटाउँछन् । ट्याक्सीमा भने पाँच सिट छन् । पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छ भने स्वचालित ढोका छन् । एक पटक फूल चार्ज गरे चार सय किलोमिटरसम्म गुड्छ । 

लुम्बिनी आसपासमा रहेका ठूलाठूला उद्योगका कारण वातावरण प्रदूषण बढिरहेकाले लुम्बिनीबारे सकारात्मक सन्देश फैलाउन सहयोग पुगोस् भनेर विद्युतीय बस ल्याइएको सदस्य सचिव शाक्यको भनाइ छ । 

बस र भ्यान चार्जिङ गर्ने स्टेशनको काम पनि पूरा भएको छ । पावरहाउसबाट १५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । यहाँ ३३ वटा गाडी चार्जर स्ट्यान्ड राखिएको छ । यिनमा तीन वटा क्विक चार्जर छन् । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका दुई वटा मिनीबस एकै पटक क्विक चार्ज गर्न मिल्छ । क्विक चार्जबाट फुल चार्ज हुन आधा घण्टा समय लाग्छ । बाँकी ३० वटा सामान्य चार्जर हुन् । यसबाट एक घण्टामा फुल चार्ज हुन्छ । यो ३० वटा जिप र कारका लागि हो ।

स्टेशनबाट एकै पटकमा १३ सवारी साधन चार्ज गर्न सकिने जापानको इसाका इलेक्ट्रिक कम्पनीका नेपाली साझेदार चिरञ्जीवी थापाले बताए । त्यहीँ इलेक्ट्रिक रिक्सा चार्ज हुने ७५ वटा प्वाइन्ट पनि राखिने छ । तीन वर्षभित्र लुम्बिनीमा पेट्रोलियम पदार्थले चल्ने सवारी साधन विस्थापित गर्ने योजनाअनुसार १३ करोड लागतमा चार्जिङ स्टेशन बनाइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);