चनाको सातु बेचेर करोडको घर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

चनाको सातु बेचेर करोडको घर

satu byapari

चन्द्रपुर, ५ जेठ । बिहानै ६ बजे रौतहटको चन्द्रनिगाहपुर चोकमा ठेला ठेल्दै दैनिक एक व्यक्ति आउँछन् र बस बिसौनी नजिकै रोकिन्छन्। ठेलामा दुई दर्जन जती सिसा र स्टिलका गिलास छन्। ठूलो बाल्टिनमा पानी छ, अर्को बाल्टिनमा चनाको सातु। केही कागती, प्याजका दाना पनि ठेलामा छ। नुन, मसलाको स–साना बट्टा छन्।

हेर्दा सामान्य देखिए पनि उनको व्यापार भने ठूलो छ। एक बिहानमै उनले हजारभन्दा बढी कमाइ गरिसकेका हुन्छन्। थोरै लगानीमा पनि मेहनत गरे पैसा कमाउन सकिन्छ भन्ने उदाहरण हुन रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित चन्द्रनिगाहपुरका ५० वर्षीय अनिल कार्की।

सातु बेच्न सुरु गर्नुअघि ऋण गरेर भए पनि विदेश गएर पैसा कमाउने सोच उनले नबनाएका हैनन्। तर सीप नभएको मान्छे विदेश गएर के गर्नु आफ्नै देशमा सानै भए पनि काम गर्ने सोच पलाएपछि विदेशमा गएर पैसा कमाउने सपना त्यत्तिकै हराएर गयो।

गरिबीका कारण पढ्न पाएनन् र पैसाको अभावमा अर्काको हलो जोत्दा हातका हत्केलामा ठेला मात्रै उठेनन्, भाग्य देखिने रेखा पनि बांगाटिंगा देखिन थाले। जीवनको ऊर्जाशील समय त्यसै जाने भो भन्ने पीरले एक दिन घरबाट उनी भागे। चन्द्रनिगाहपुरका रैथानेहरू बिहानै अनिल दाइको सातु पसलमा पुग्छन्। स्वाद अनुसारको सातु घोल्न लगाउँछन् र मुख मिठ्याउँदै बाटो लाग्छन्।

गर्मी मौसममा उनको ठेला वरिपरी चनाको सातु खानेहरूको भीड नै देखिन्छ। हरेक दिन बिहान उनलाई सातु घोलेर ग्राहकलाई दिन भ्याइनभ्याइ हुन्छ। सातु खान आउनेहरू आफ्ना स्वादअनुसार काँचो प्याज, कोही कागतीको रस, कोही मसला, कोही नुन मात्रै राख्न लगाउँछन्।

हेर्दा सामान्य ठेलाको व्यापार जस्तो लागे पनि बिहान दुई हजारभन्दा बढीको सातु बिक्री हुने र त्यसमा आधाभन्दा बढी नाफा हुन्छ। दिउँसो नास्ताको व्यापारबाट राम्रै कमाइ भइरहेको छ। सातु पानीमा घोल्दै गरेका कार्कीले भने, ‘सन्तुष्ट छु, मेहनत गरेको छु। जीवनमा यति धेरै प्रगति हुन्छ भन्ने सपनामा पनि सोचेको थिइनँ।’ उनको बुझाइमा कमाएर मात्रै हुँदैन बचत गर्ने बानी पनि हुन पर्छ। साना लगानीले व्यापार गर्नेहरू बचत गर्नेतर्फ त्यति ध्यान नदिने उनको तर्क छ।

उनले तीन वर्षअघि चन्द्रनिगाहपुरको मुख्य चोक नजिकै दुईतले पक्की घर बनाएका छन्। उनको घरको मूल्य अहिले करिब एक करोड रुपैयाँ पर्छ। २० वर्षअघि खाली हात घरबाट भागेका कार्कीले घर घडेरी जोडे, गाउँमा एक बिघा खेतसमेत किनेको बताउँछन्। होटलमा खाना पकाउने काम गर्दा बचत गरेको आठ हजार रुपैयाँले पुरानो ठेला किनेर उनले सातु बेच्न सुरु गरेका थिए।

बिहान चनाको सातु बेचेर घर फर्किएपछि दिउँसो रोटी, भेज मःम, चाउमिन लगायत खाजा बेच्छन्। दैनिक उनले १० किलोसम्म चनाको सातु बेच्दै आएका छन। दिउँसो एक सयभन्दा बढीलाई खाजा खुवाउँछन्। पूर्वपश्चिम राजमार्ग नजिकै दुईतले पक्की घर छ। त्यो घरबाट ठेला ठेलेर बिहान निस्किँदै गर्दा ग्राहक आउदैनन् कि भन्ने पनि उनलाई कहिल्यै चिन्ता भएन।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);