आधा शताब्दीमा पनि नसकिएको 'लुम्बिनी गुरुयोजना' | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

आधा शताब्दीमा पनि नसकिएको ‘लुम्बिनी गुरुयोजना’

Lumbini

काठमाडौं, १५ बैशाख । दुई वर्षअघि प्रधानमन्त्री रहेकै बेला केही मन्त्रीसहित लुम्बिनी आएका केपी शर्मा ओलीले मायादेवी मन्दिरछेउ उभिएर घोषणा गरेका थिए, ‘लुम्बिनी गुरुयोजना तीन वर्षभित्र सकिनेछ ।’ ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि फेरि लुम्बिनी आउँदैछन् । गुरुयोजनाको निर्माण कार्या दुई वर्षअघि जति थियो, अहिले पनि करिब त्यति नै छ ।

उनले पहिला घोषणा गरेअनुसार काम भएको भए अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र २५६२ औं बुद्ध जन्यन्तीको उद्घाटनका क्रममा उनको भाषणमा एक वर्षभित्र गुरुयोजना सकिने दाबी आउनुपर्ने हो । ओलीको प्रतिबद्धतासहितको निर्देशन पाएका विकास कोषका पदाधिकारीहरूले गुरुयोजना सक्न अझै पाँच वर्ष लाग्ने बताउँदै आएका छन् ।

इतिहासमा कुनै परियोजना आधा शताब्दीसम्म निर्माणकै क्रममा भएको विरलै उदाहरणमा पर्न सक्छ, लुम्बिनी विकास गुरुयोजना । लुम्बिनी त्यो स्थान हो, जहाँ शान्तिका अग्रदूत गौतमबुद्ध जन्मेको प्रमाण फेला परेको थियो ।

जापानी आर्किटेक्चर कान्जो टांगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना सरकारलाई हस्तान्तरण गरेका थिए । ६ वर्ष लगाएर बनेको गुरुयोजना सन् १९९५ मै सक्ने लक्ष्य थियो । त्यो गुरुयोजना हस्तान्तरण भएको ४० वर्ष पुगेको छ । गुरुयोजनाको ८० प्रतिशत काम सकिएको भन्ने विकास कोषको दाबीलाई पुरातत्वविद्हरू स्विकार्दैनन् । पुरातत्वविद् वसन्त बिडारी भन्छन्, ‘इँटाको काम ८० प्रतिशत सकिएको हुन सक्छ, आर्कियोलोजिकल हिसाबमा त कामै भएको देख्दिनँ ।’ उनको भनाइले लुम्बिनी विकास कोषका पदाधिकारीहरू इँटा र सिमेन्टसम्बन्धी काममा बढी सक्रिय रहेको पुष्टि गर्छ ।

लुम्बिनी सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्वको क्षेत्र भएकाले यहाँ त्यसअनुरूपका संरचनाहरू आवश्यक छन् । लुम्बिनी प्रवेश गर्नासाथ सुखानुभूति हुने, बुद्धको सामीप्यमै छु भन्ने आभास हुने, बसिरहँु लाग्ने संरचनाहरू लुम्बिनीमा निर्माण भएकै छैनन् । टांगेले कल्पना गरेको गुरुयोजना पन्छाएर छिटोछरितो हुने काम विकास कोषले गर्दै आएको छ ।

लुम्बिनी गुरुयोजनाको काम सुरु भएको करिब आठ वर्षपछि जन्मिएका अवदेश त्रिपाठी वर्तमान उपाध्यक्ष हुन् । देउवा सरकारका पालामा नियुक्ति पाएका उनले गुरुयोजनामा तोकिएका संरचनाहरू पहिलो चरणमा निर्माण हुने बताउँदै आएका छन् । ३२ वर्षीय उपाध्यक्ष त्रिपाठी भन्छन्, ‘अबको पाँच वर्षमा गुरुयोजनामा निर्दिष्ट सबै काम सकिनेछन् ।’ त्रिपाठी लुम्बिनी विकास कोषलाई जग्गा दिएर सघाउने परिवारका सदस्य भएकाले उनीबाट केही काम हुने आशा सरोकारवाला पक्षले गरेका छन् ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।