खाडी र मलेसिया सकसपूर्ण | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

खाडी र मलेसिया सकसपूर्ण

khadi

काठमाडौं, १५ बैशाख । नेपाली श्रमिकहरू वैदेशिक रोजगारीका क्रममा धेरै जाने मुलुक हो, खाडी तथा मलेसिया । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको श्रम आप्रवासनसम्बन्धी प्रतिवेदनले तिनै प्रमुख रोजगार गन्तव्य मुलुक नेपाली श्रमिकका लागि सकसपूर्ण रहेको देखाएको छ।

नेपाली श्रमिकको मुख्य गन्तव्य मलेसिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, ओमनलगायतका मुलुकमा नेपाली कामदारले विभिन्न किसिमका समस्या झेल्दै आएका छन् । म्यानपावर कम्पनी र रोजगारदाता कम्पनीको बदमासीका कारण हुने दोहोरो श्रम–सम्झौताले नेपाली कामदार ठगिने गरेका हुन् । फ्री भिसा फ्री टिकट लागू भए पनि ती मुलुकमा जाने कामदारले स्वदेशी म्यानपावर कम्पनीलाई चर्को सेवाशुल्क तिर्न बाध्य छन् । त्यस्तै रोजगारीका क्रममा बन्धकसरहको जीवन जिउन बाध्य हुनेदेखि काम गरेको ज्याला नपाउने, गैरकानुनी रूपमा ज्याला कट्टी, व्यक्तिगत कागजात नियन्त्रणदेखि शारीरिक एवं यौनजन्य दुव्र्यवहार खेप्न विवश रहेको प्रतिवेदनमा औँल्याइएको छ ।

४ देशकै ७५ प्रतिशत बढी उजुरी
वैदेशिक रोजगार विभागमा परेको हुल उजुरी ७५ दशमलव २३ प्रतिशत उजुरी मलेसिया, साउदी अरेबिया, कतार र युएईमा गएका कामदारका तर्फबाट दर्ता भएको उल्लेख छ । विभागका अनुसार आर्थिक वर्ष ०७२-७३ देखि ०७३-७४ सम्म मात्र ६ हजार ८ सय ३१ उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्षदेखि कन्सुलर सेवा विभागले वैदेशिक रोजगारमा समस्या भोगेका श्रमिकका उद्धारका लागि अनलाइनमार्फत निवेदन दिन सक्ने व्यवस्था गरेको छ । सोही कारण एक वर्षमा १८ मुलुकबाट २ सय २७ उजुरी दर्ता भइसकेका छन् । यसरी उद्धारका लागि उजुरी दिनेमा साउदी अरेबिया, मलेसिया र युएईका धेरै छन् । तर, यसरी उद्धारका लागि निवेदन दिएकामध्ये कति स्वदेश फिर्ता भए भन्ने कुनै आँकडा भने छैन ।

८ सय १८ श्रमिक अपांग, मुख्य कारण कार्यस्थलको दुर्घटना
पछिल्लो नौ वर्षमा मात्रै वैदेशिक रोजागारीका क्रममा ८ सय १८ नेपाली कामदारले विभिन्न किसिमका अपांगता व्यहोर्नुपरेको तथ्यांक छ । वैदेशिक रोजगार प्रवद्र्र्धन बोर्डबाट अपांगता सहायता लिनेहरूमा ७ सय ८८ पुरुष तथा ३० महिला रहेका छन् । योबाहेक पनि धेरै नेपाली श्रमिक अपांग भएको हुन सक्ने अनुमान छ । श्रमिकले बढी अपांगता व्यहोरेका मुलुकमा मलेसिया, साउदी, कतार र युएई देखिएका छन् । यसरी अपांगता हुनुपर्ने प्रमुख कारण कार्यस्थलमा हुने दुर्घटना नै रहेको छ । ७० प्रतिशतभन्दा बढी अपांगता कार्यस्थलमा दुर्घटना रहेको छ भने अन्य कारणमा रोग, सडक दुर्घटना, झैझगडालगायतका पनि छन् ।

२९ मुलुकमा ५ हजार ८ सयभन्दा बढीको मृत्यु
वैदेशिक रोजगारीका क्रममा पछिल्लो ९ वर्षको अवधिमा मात्रै विभिन्न २९ मुलुकमा ५ हजार ८ सय ९२ नेपाली श्रमिकले ज्यान गुमाएका छन् । सो अवधिमा सबैभन्दा बढी मलेसियामा २ हजार १ सय ५४, साउदीमा १ हजार ६ सय ३८, कतारमा १ हजार २ सय ३, युएईमा ४ सय २७ र कुवेतमा १ सय ८६ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ७ सय ६५ जना पुरुष र १ सय २७ जना महिला छन् । तर, मृत्युको कारण भने स्पष्ट रूपमा खुल्ने गरेको छैन । मलेसियामा मृत्यु भएका ५ सय ४६ तथा कतारमा मृत्यु भएका १ सय ४० को मृत्युका कारणमा ‘अन्य वा पहिचान हुन नसकेको’ उल्लेख छ । त्यस्तै साउदीमा मृत्यु हुने अधिकांशको कारण स्वाभाविक भनिएको छ भने कतिपयको प्राकृतिक मृत्यु बताइएको छ । युवा उमेरकै श्रमिकको मृत्यु प्राकृतिक भनिनु आफैँमा शंकास्पद रहेको पूर्वश्रम सचिव दीपेन्द्रविक्रम थापा बताउँछन् ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।