युरोपसँग युद्ध गर्ने रुसको चाहना छैन, तर द्वन्द्वका लागि तयार छौँः लावरोभ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८३, बिहीबार

युरोपसँग युद्ध गर्ने रुसको चाहना छैन, तर द्वन्द्वका लागि तयार छौँः लावरोभ

रुसका विदेशमन्त्री सर्गेई लावरोभले युरोपसँग युद्ध गर्ने आफ्नो देशको कुनै चाहना नरहेको तर युरोपले द्वन्द्व शुरु गरे त्यसको सामना गर्न रुस पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ । बेलारुसको राजधानी मिन्स्कमा शुरु भएको चौथो मिन्स्क अन्तर्राष्ट्रिय युरेसियन सुरक्षा सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लावरोभले रुसले पश्चिमा मुलुकहरूसँगको सहकार्यका लागि कहिल्यै ढोका बन्द नगरेको स्पष्ट पार्नुभयो । रुसप्रति शत्रुतापूर्ण सोच त्याग्ने पश्चिमा देशहरूसँग सहकार्य गर्न आफ्नो देश सधैँ तयार रहेको उहाँको भनाइ थियो । यद्यपि, युरोपसँग प्रत्यक्ष संवादको सम्भावना भने अझै स्पष्ट नभएको उहाँले बताउनु भयो । विश्वव्यापी रूपमा बहुध्रुवीय व्यवस्थातर्फ अघि बढिरहेको प्रवृत्तिबाट पश्चिमा मुलुकहरू विमुख भइरहेको उहाँको आरोप थियो । सम्मेलनको उद्घाटन सत्रमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले युरेसिया क्षेत्रमा दिगो सुरक्षा र विकासको मोडल निर्माण गर्नु विश्वकै हितमा रहेको बताउनु भयो । उहाँले युरोपका विभिन्न मुलुकमा बढिरहेको विरोध प्रदर्शनलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई सहकार्यका उपाय खोज्न आग्रह गर्नुभयो । लुकासेन्कोले युक्रेन सङ्कटले अर्को ठूलो युद्ध निम्त्याउन सक्ने सम्भावनासमेत औँल्याउँदै उक्त द्वन्द्वको शीघ्र शान्तिपूर्ण समाधान हुने आशा व्यक्त गर्नुभयो । बेलारुसको विदेश मन्त्रालयले आयोजना गरेको दुईदिने सम्मेलनमा करिव ५० देश तथा क्षेत्रका ६०० भन्दा बढी प्रतिनिधि सहभागी छन् । सम्मेलनमा हतियार नियन्त्रण, सुरक्षा क्षेत्रमा नयाँ प्रविधिको भूमिका तथा सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ) को विकासलगायत विषयमा छलफल भइरहेको छ । सीएसटीओमा आर्मेनिया, बेलारुस, कजाकिस्तान, किर्गिस्तान, रुस र ताजिकिस्तान गरी छ सदस्य राष्ट्र छन् ।

Leave a Reply