ओझेलमा परेको लन टेनिस ः सम्भावनाको विशाल मैदान, चुनौतीको लामो यात्रा | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

ओझेलमा परेको लन टेनिस ः सम्भावनाको विशाल मैदान, चुनौतीको लामो यात्रा

कविना बलामी,काठमाडौँ  । विश्वभर प्रतिष्ठित र महँगो खेलका रूपमा परिचित लन टेनिसले नेपालमा अपेक्षित प्राथमिकता पाउन सकेको छैन। खेलाडीहरूको अथक मेहनत, सीमित स्रोतसाधन र न्यून अवसरका बीच पनि नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति जनाइरहेका छन्। तर विडम्बना के छ भने उपलब्धिको अनुपातमा यो खेलले चर्चा र प्रोत्साहन पाएको देखिँदैन।

लन टेनिसलाई संसारकै महँगो खेलमध्ये एक मानिन्छ। खेलाडीलाई आवश्यक पर्ने र्याकेट, बल, जुत्ता, पोसाक, प्रशिक्षण शुल्क र प्रतियोगितामा सहभागी हुन लाग्ने खर्च सामान्य परिवारका लागि निकै चुनौतीपूर्ण हुन्छ। त्यसमाथि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका कोर्टको अभावले खेलाडीहरूलाई अझ बढी कठिनाइ भोग्न बाध्य बनाएको छ।नेपालमा लन टेनिसको विकासका लागि सबैभन्दा ठूलो चुनौती भनेकै पूर्वाधारको अभाव हो। केही स्थानमा मात्र टेनिस कोर्ट उपलब्ध छन्। फलस्वरूप राजधानी केन्द्रित खेल प्रणालीले प्रतिभावान खेलाडीहरूलाई पछाडि पारिरहेको छ।प्रशिक्षणको क्षेत्रमा पनि चुनौती कम छैन। अनुभवी प्रशिक्षकको अभाव, नियमित प्रशिक्षण कार्यक्रमको कमी तथा आधुनिक प्रविधिको प्रयोग नहुनुले खेलाडीहरूको क्षमता विकासमा प्रत्यक्ष असर पारिरहेको छ। विशेष गरी जुनियर खेलाडीहरूलाई लक्षित गरेर दीर्घकालीन योजना निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ। खेलाडी उत्पादनको बलियो आधार भनेकै बाल्यकालदेखि दिइने प्रशिक्षण हो। तर नेपालमा यस्तो प्रणाली अझै प्रभावकारी रूपमा लागू हुन सकेको छैन।

यति धेरै चुनौतीका बीच पनि नेपाली खेलाडीहरूले उल्लेखनीय उपलब्धि हासिल गरिरहेका छन्। विशेष गरी जुनियर खेलाडीहरूले दक्षिण एसियाली प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको सम्भावनालाई उजागर गरेका छन्। अन्डर–१२ समूहमा नेपालका खेलाडीहरू दक्षिण एसियामा दोस्रो स्थानसम्म पुग्न सफल भएका छन्। यसले नेपाली खेलाडीहरूको क्षमता र सम्भावनालाई स्पष्ट रूपमा देखाउँछ।त्यति मात्र होइन, यसपटक पनि नेपालका पुरुष तथा महिला टोलीहरू एसिया कपमा सहभागी हुन सफल भएका छन्। यो उपलब्धि आफैँमा महत्त्वपूर्ण छ। सीमित स्रोतसाधनका बाबजुद अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताले खेलाडीहरूको आत्मविश्वास बढाएको छ। साथै, यसले भविष्यमा अझ राम्रो नतिजा हासिल गर्न सकिने सम्भावनालाई पनि बलियो बनाएको छ।नेपालमा लन टेनिस लोकप्रिय नहुनुको अर्को कारण प्रचारप्रसारको कमी पनि हो। क्रिकेट वा फुटबलजस्ता खेलले जति स्थान सञ्चारमाध्यममा पाउँछन्, लन टेनिसले त्यति अवसर पाएको देखिँदैन। खेलाडीहरूले पदक जित्दा क्षणिक चर्चा हुने गरे पनि दीर्घकालीन योजनाका साथ उनीहरूलाई अघि बढाउने वातावरण निर्माण हुन सकेको छैन।

अर्कोतर्फ, निजी क्षेत्रको लगानी आकर्षित गर्न पनि चुनौती देखिएको छ। पर्याप्त प्रायोजन नहुँदा खेलाडीहरूले आफ्नै खर्चमा प्रशिक्षण लिनुपर्ने अवस्था छ। आर्थिक समस्याका कारण धेरै प्रतिभावान खेलाडीहरूले बीचमै खेल जीवन समाप्त गर्नुपरेको उदाहरण पनि प्रशस्त छन्।यद्यपि, चुनौतीहरूकै बीचमा आशाको किरण भने देखिएको छ। नेपालमा प्रतिभाको कमी छैन। आवश्यक छ त केवल उचित योजना, पर्याप्त लगानी, आधुनिक पूर्वाधार र दक्ष प्रशिक्षकको व्यवस्था। यदि सरकारले विद्यालय तहदेखि नै लन टेनिसलाई प्रोत्साहन गर्ने नीति लागू गर्ने हो भने आगामी वर्षहरूमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडी उत्पादन गर्न सक्छ।

खेलाडीहरूलाई आर्थिक सहयोग, छात्रवृत्ति, नियमित प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र आधुनिक सुविधासहितको वातावरण उपलब्ध गराउन सकिए नेपालले दक्षिण एसियाली क्षेत्र मात्र होइन, विश्वस्तरमै आफ्नो परिचय बनाउन सक्नेछ । लन टेनिस केवल एउटा खेल मात्र होइन, अनुशासन, धैर्य, एकाग्रता र निरन्तर सङ्घर्षको प्रतीक पनि हो। त्यसैले यो खेललाई ओझेलमा होइन, उज्यालो भविष्यतर्फ अघि बढाउने समय आएको छ। किनभने आज गरिएको लगानीले भोलिको सफलताको आधार तयार पार्नेछ।

 

Leave a Reply