महाशिवरात्रि : सनातन आस्था, संस्कृति र चेतनाको महापर्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

महाशिवरात्रि : सनातन आस्था, संस्कृति र चेतनाको महापर्व

महाशिवरात्रि पर्व सनातन हिन्दू धर्मावलम्बीहरूको आस्था, साधना र चेतनासँग जोडिएको महान धार्मिक उत्सव हो । श्रद्धालु र साधुसन्तहरूको संगमस्थल विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर र महाशिवरात्रि पर्वले नेपाललाई विश्व शैव सभ्यताको केन्द्रका रूपमा चिनाउँदै आएको छ ।

 

-माेहनप्रसाद मैनाली
महाशिवरात्रि पर्व विश्वभरका सनातनी हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक उत्सव, आस्था, साधना, आत्मचिन्तन र सांस्कृतिक चेतनाको प्रतीक हो । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व भगवान् शिवको आराधनामा समर्पित हुन्छ । शिवलाई सृष्टिको संहारकर्ता, सिर्जनाको आधार, योगका आदिगुरु, वैराग्य र करुणाको समन्वयस्वरूपका रूपमा लिइन्छ । नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग महाशिवरात्रिको सम्बन्ध अन्योन्यास्रित छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर यस पर्वको केन्द्रविन्दुका रूपमा रहँदै आएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ श्रद्धालु भक्तजनले भरिन्छ । देश–विदेशबाट आएका भक्तजन, साधुसन्त, नागाबाबा, योगी तथा तीर्थयात्रीहरूको उपस्थितिले पशुपति क्षेत्र साधनाको महासंगमस्थलमा रूपान्तरित हुन्छ ।

पौराणिक ग्रन्थहरूमा महाशिवरात्रिको उत्पत्तिबारे विभिन्न कथाहरू वर्णन गरिएको छ । शिवपुराण अनुसार यही रात भगवान् शिव लिङ्गरूपमा प्रकट भएका थिए । अर्को मान्यता अनुसार महाशिवरात्रिकै दिन शिव–पार्वतीको विवाह सम्पन्न भएको थियो । कतिपय शैव दर्शनले यो रात शिवले ताण्डव नृत्य गरेको र ब्रह्माण्डीय चेतनाको उच्चतम अवस्थाको प्रतीक मानेको छ । यसैले महाशिवरात्रि आत्मशुद्धि, संयम र ध्यानको पर्वका रूपमा विकसित भएको अनुमान गर्न सकिन्छ ।

नेपालमा शिवपूजाको इतिहास अत्यन्त पुरानो छ । लिच्छवि कालदेखि नै पशुपतिनाथ मन्दिर शैव आस्थाको प्रमुख केन्द्र रहँदै आएको ऐतिहासिक प्रमाणहरू भेटिन्छन् । शिलालेख, ताम्रपत्र तथा प्राचीन अभिलेखहरूले पशुपति क्षेत्रको धार्मिक महत्वलाई पुष्टि गरेको छ । सनातन सभ्यताको जीवन्त प्रतीकको रुपमा पशुपतिनाथ मन्दिरलाई लिन सकिन्छ । महाशिवरात्रि पर्वले धार्मिक कर्मकाण्डसँगै नेपाली समाजको सांस्कृतिक विविधतालाई समेत उजागर गर्छ । किराँत, बौद्ध, शैव र वैष्णव परम्पराहरूको सहअस्तित्व पशुपति क्षेत्रमा स्पष्ट देखिन्छ । शिवलाई आदिदेवका रूपमा विभिन्न समुदायले आ–आफ्नै सांस्कृतिक दृष्टिकोणबाट पूज्ने परम्परा नेपालमा विद्यमान छ ।

यस पर्वका अवसरमा उपवास, रुद्राभिषेक, बेलपत्र अर्पण, जाग्राम बस्ने, भजन–कीर्तन तथा ध्यान–साधनाजस्ता गतिविधिहरू हुन्छ । महाशिवरात्रि सामाजिक सद्भाव, सहिष्णुता र आध्यात्मिक एकताको पर्व पनि हो ।

महाशिवरात्रिका अवसरमा छिमेकी देश भारतसहित विभिन्न मुलुकबाट ठुलो संख्यामा साधुसन्तहरू पशुपतिनाथ आउने परम्परा छ । नागा साधु, अघोरी, योगी, सन्यासीहरू पशुपति क्षेत्रमा एकत्रित हुनु आफैमा दुर्लभ दृश्य हो । उनीहरूको उपस्थितिले पशुपति क्षेत्रलाई जीवित तपोभूमिका रूपमा चिनाएको छ । पशुपति क्षेत्र विकास कोषले यी साधुसन्तहरूको व्यवस्थापन, सत्कार र सम्मान गर्दै आएको छ । आवास, भोजन, स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्था गर्नुका साथै शिवरात्रिपछि सम्मान र दक्षिणासहित विदा गर्ने परम्परा कोषले निर्वाह गर्दै आएको छ ।

महाशिवरात्रि पर्व सनातन हिन्दू सभ्यताको आत्मा हो । यसले धर्म, दर्शन, संस्कृति र इतिहासलाई एकै सूत्रमा बाँध्ने काम गरेको छ । पशुपतिनाथ मन्दिर यस पर्वको केन्द्र मात्र नभई नेपालकै धार्मिक पहिचानको प्रतीक हो । साधुसन्तहरूको आगमन, भक्तजनको श्रद्धा र संस्कृतिको निरन्तरताले महाशिवरात्रिलाई जीवित परम्पराका रूपमा कायम राखेको छ ।

Leave a Reply