काठमाडाैं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले बजार चलाउनका लागि नियम र स्वतन्त्रता दुवै आवश्यक रहेको बताउनुभएको छ । नेपाल शेयरबजार लगानीकर्ता संघको प्रथम वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै उहाँले शेयर बजारमा नियम धेरै भयो भने बजारमा उत्साह घट्ने र स्वतन्त्रता पनि बढी भयो भने बजारमा अराजकता आउने बताउनुभएको हो ।
बुद्धिमानी पूर्वक नियमन अपनाउनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उहाँले लगानीकर्ताको हित र बजारको उर्जा पनि कायम राख्नेगरी नेप्सेले आफ्नो काम कारबाही अघि बढाउने प्रतिवद्धता जाहेर गर्नुभयो ।
नेपाल स्टक एक्सचेन्ज सीईओ चापागाईंले पुँजीबजार केबल शेयर किनबेच गर्ने थलो मात्र नभएको बताउँदै यो देशको आर्थिक समृद्धिको आधार भएको पनि बताउनु भयो । राष्ट्रको विकास, श्रम रोजगारी, उद्योग र लगानी यी सबै कुरा पुँजीबजारसँग जोडिएको उहाँको भनाइ छ ।
उहाँले बजारमा धेरै लगानीकर्ता आइरहेको बताउँदै शेयरबजारको बारेमा साक्षरताको कमी देखिएको समेत बताउनुभयो । उहाँले नेपाल शेयरबजार लगानीकर्ता संघले साक्षरताका लागि नेतृत्व लिन समेत उहाँले सुझाव दिनुभयो ।





