भूकम्प पीडितले पाउने दोस्रो किस्ताको समय चैत्र मसान्तसम्म थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भूकम्प पीडितले पाउने दोस्रो किस्ताको समय चैत्र मसान्तसम्म थप

काठमाडौं, २६ माघ । सरकारले भूकम्प पीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि चैत मसान्तसम्मका लागि थप गरेको छ । दोस्रो किस्ता लिने म्याद थपिएसँगै यसअघि २०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीले आगामी चैत मसान्तसम्म दोस्रो किस्ताको रकम लिन पाउने भएका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प पीडितलाई चैत मसान्तसम्म दोस्रो किस्ताको आवास अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको हो । दोस्रो किस्ता लिने म्याद थपिएसँगै २०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीले आगामी चैत मसान्तसम्म दोस्रो किस्ताको रकम लिन सक्नेछन् ।

अघिल्लो वर्ष पुस मसान्तसम्म पहिलो किस्ता बुझेका लाभग्राहीले दोस्रो किस्ताको रकम पाउन पुस मसान्तसम्म तोकिएको थियो । दोस्रो किस्ताको अनुदान पाउने समयावधि पुस मसान्तसम्म नै सीमित गर्दा धेरै लाभग्राही छुट्ने स्थिति भएपछि प्राधिकरणले म्याद थप गरेको प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए।

तेस्रो किस्ताको अनुदान वितरणको अवधि भने यसअघि कै निर्णयअनुसार असार मसान्तसम्म कायम छ । प्राधिकरणका अनुसार हालसम्म पहिलो किस्ताको अनुदान पाउने लाभग्राहीको संख्या ६ लाख ७१ हजार पाँच सय ७७ छ । त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणिकरण गरिएका घर संख्या दुई लाख ३३ हजार ६ सय ७७ छ भने तेस्रो किस्ता पाउने लाभग्राही ५५ हजार पाँच सय ७७ मात्र छ ।

हालसम्म प्राधिकरणको अनुदान लाभग्राहीको सूचीमा सात लाख ६७ हजार सात सय पाँच भूकम्पपीडित छन् । त्यसमा ५ लाख ८४ हजार चार सय ६८ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । अहिलेसम्म करीब एक लाख भूकम्पपीडितको घर बनिसकेको प्राधिकरणको तथ्यांक छ । आगामी असार मसान्तसम्म साढे चार लाख घर पुनर्निर्माण गर्ने प्राधिकरणको लक्ष्य छ । निर्देशक समितिको शुक्रवारको बैठकमा प्रधानमन्त्री देउवाले पुनर्निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएको सीईओ भुसालले बताए ।

बैठकमा नेकपा एमालेले समितिको सहमति विनानै भूकम्पपीडितलाई आवास निर्माणका लागि सरकारले १ लाख अनुदान रकम थप गर्ने निर्णय लिएको भन्दै आपत्ति जनाएको थियो । सरकारले भूकम्पपीडितलाई १ लाख रुपैयाँ अनुदान थप गर्ने निर्णय गरेपनि रकम अभाव रहेको प्राधिकरणले स्पष्ट पारिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);