पहिलो किस्ता बुझेर घर नबनाएकाले दोस्रो किस्ता नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पहिलो किस्ता बुझेर घर नबनाएकाले दोस्रो किस्ता नपाउने

काठमाडौं, ३० पुस । भूकम्प गएको ३३ महिना पुग्नै लाग्दासमेत नीजि आवास निर्माणको कामले गति लिन सेकेको छैन । हालसम्म ८५ हजार घरमात्र निर्माण सम्पन्न भएको छ । बाँकी केहीले भने पहिलो किस्ता नै पाउन सकेका छैनन् ।

पहिलो किस्ता बुझेकाले पनि दोस्रो किस्ता दाबी गरेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने गत पुष मसान्तभित्र पहिलो किस्ता बुझेर घर बनाउन सुरु नगर्नेलाई दोस्रो किस्ता नदिने जनाएको छ ।

गत पुष मसान्तभित्र आवास निर्माणका लागि पहिलो किस्ता बुझेका ४ लाख ४० हजार भूकम्प पीडितलाई  प्राधिकरणले दोस्रो किस्ता बुझ्नका लागि तोकेको समयसीमा पुष ३० गतेबाट सकिएको छ । तोकिएको सीमा भित्र अधिकांश लाभग्राहीले दोस्रो किस्ता बुझेका छैनन् ।

करिब ७ लाख ७० हजार लाभग्राही मध्ये करिब १ लाख भूकम्प पीडित सम्झौता गर्न नै नआएको प्राधिकरणको भनाइ छ । सम्झौता गरिसकेकामध्ये १४ अतिप्रभावित जिल्लामा करिब ९९ प्रतिशतले पहिलो किस्ता वापतको रकम पाइसकेको र बाँकी जिल्लामा ९४ प्रतिशतले पहिलो किस्ता लिइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार गत पुष मसान्तभित्र पहिलो किस्ता लिएकाले पुष ३० गतेसम्म घरनिर्माण सुरु गरेको जानकारी प्राधिकरणमा गराउनुपर्छ । गत पुष मसान्तदेखि असार मसान्तसम्मको अवधिमा पहिलो किस्ता लिएकाहरुले भने आगामी चैत मसान्तभित्र दोस्रो किस्ता बापतको अनुदान दाबी गरिसक्नुपर्नेछ ।

हालसम्म १ लाख ८४ हजारले दोस्रो किस्ताका लागि दाबी गरिसकेको र ८५ हजार घर निर्माण भईसकेको प्राधिकरणको तथ्यांक छ । पहिलो किस्ता बुझेर घर नबनाउनेहरुलाई दोस्रो किस्ता वापतको रकम उपलब्ध नगराउने प्राधिकरणले जनाएको छ । घर नबनाउने तर अनुदान रकम लिनेहरुलाई रकम फिर्ता गर्नसमेत प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणले सीमान्तकृत एकल र बृद्धबृद्धालाई भने पहिलो किस्ता बुझेर पनि तत्काल घर नबनाएकाहरुलाई सहमतिको आधारमा अर्काे प्रबन्ध गर्नका लागि छलफल भइरहेको जनाएको छ । लाभग्राहीले जुन प्रयोजनका लागि प्राधिकरणबाट रकम बुझेको हो त्यही प्रयोजनका लागि खर्च गर्न पनि आग्रह गरेको छ ।

धेरैले आफै घर निर्माण गर्नतिर लागे पनि रकमको जोहो गर्न नसकेका पीडित भने अझै पनि सरकारको योजना पर्खेर बसिरहेका छन् । सरकारले सहरमा घर बनाउन २५ लाख र गाउँमा १५ लाख बैंकमार्फत २ प्रतिशत व्याजमा सुलभ कर्जा दिनेसमेत घोषणा गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);