खसीबाेकामा निजी क्षेत्रको भर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

खसीबाेकामा निजी क्षेत्रको भर

काठमाडाैं । यस पटकको दशैँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्याङ्ग्रा बिक्री नगर्ने भएपछि काठमाडौं उपत्यकामा निजी क्षेत्रले भित्र्याएका खसी बोकाहरुले मात्रै बजार पाएका छन् ।

काठमाडौंको टुकुचा, कलंकी तथा भृकुटीमण्डप लगायतका खसी बजारमा निजी क्षेत्रका व्यापारीहरुले विभिन्न स्थानबाट ल्याएका खसीबोकाहरुको बजार लागेको छ । धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, दोलखा लगायतका जिल्लाहरुबाट व्यापारीहरुले खसी, बोकाहरु काठमाडौं ल्याएका छन् ।

जेन–जी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमाथि भएको आगजनी, तोडफोडबाट भौतिक संरचनाहरु ध्वस्त भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष सरकारी स्तरबाट खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्न सकेन । तर बजारमा निजी क्षेत्रबाट ल्याइएका खसी बोकाका व्यापारीहरुले मूल्य बढाउनसक्ने भएकाले अनुगमन जारी राख्ने सरकारको भनाइ छ । सरकारले खसीबोका बिक्री नगर्ने भएपछि सर्वसाधारणलाई सहज र सुलभ मूल्यमा खसीबोका उपलब्ध गराउन निजी क्षेत्रलाई चुनौती थपिएको व्यापारीहरु बताउँछन् ।

काठमाडौंको माग पूरा गर्न देशका विभिन्न ३५ जिल्लाबाट खसीबोका ल्याइने गरेको तर पहिरोका कारण सडक अवरुद्ध हुँदा कतिपय खसीबोका सडकमै परेको उनीहरुको गुनासो छ । बजारमा खसीबोकाको माग राम्रो भएको र माग अनुसार आपूर्ति पनि भइरहेको उनीहरुको भनाइ छ ।

खसी बजारमा, जिउँदो खसीको मासु प्रतिकेजी ६ सय ७० रुपैयाँदेखि सात सय ३० रुपैयाँ, जिउँदो बोकाको मूल्य प्रतिकेजी ६ सय ५० देखि ७ सय ३० सम्म तथा जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी एक हजार दुई सय ४० देखि एक हजार तीन सय रुपैयाँसम्म बिक्री भइरहेको कलंकी खसी बजार व्यवस्थापनको भनाइ छ ।

Leave a Reply