काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश जटिल मोडमा रहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष दाहालले अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको बताउनुभएकाे हाे ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले अहिलेको सरकारले जहाँ टेक्छ त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकार सुशासनको विरुद्धमा खडा भएको आरोप लगाउँदै सम्पूर्ण रुपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको जिकिर गर्नुभयाे ।
जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्ने उहाँकाे भनाइ छ ।
अध्यक्ष दाहालले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरुविरुद्ध सफलता हात पार्नसक्ने बताउनुभयो । आफूहरुले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरित गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी दिनुभयो ।





