काठमाडाैं । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सीमित हुन थालेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल-बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उहाँले अहिले संसदमा नैराश्यता र नकारातमकता फैल्याउने काम भइरहेको र यसले संसदीय मर्यादामाथि प्रश्न उठाउने बताउनुभएकाे हाे ।
सांसद नम्वाङले संसदबाट भइरहेका नकारात्मक र नैराश्यताका कुराहरु जनताले मूल्यांकन गरिरहेको पनि बताउनुभयो । कानूनलाई जीवन्त बनाउने काम सांसदहरुको भएको र सांसदहरुले कानूनलाई जीवन्त बनाउँदै जनतामा आशा जगाउनुपर्ने बताउनुभयो ।
बेलायती संसदका अभ्यास र अनुभव सिकिरहँदा नेपाली भूगोल र जनतासँग कतिपय कुराहरु मेल नखाने भएकाले आफ्नो भूगोल र जनताको अपेक्षाअनुसार कामहरु गर्नुपर्ने सांसद नेम्वाङकाे भनाइ छ ।
सांसद नेम्वाङले जनताको करबाट विदेश भ्रमण गर्ने र त्यसको उपलब्धि नहुने आरोप सांसदहरुमाथि लाग्ने गरेको भन्दै त्यसलाई चिर्न विदेशमा सिकेका कुराहरु स्वदेशमा लागू गर्न जरुरी रहेको बताउनुभयो ।





