ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द

इण्डोनेसियाको माउन्ट अनक क्राकाटाउ ज्वालामुखी विष्फोट भई वायुमण्डलमा खरानी फैलिएपछि राजधानी जकार्तास्थित सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल लगायतका प्रमुख विमानस्थलहरू आईतवार अस्थायी रूपमा बन्द गरिएका छन् । इण्डोनेसियाको परिवहन मन्त्रालयकाअनुसार ज्वालामुखीको सक्रियता बढेसँगै विमानस्थल क्षेत्रमा खरानीको प्रभाव देखिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उडान सेवा स्थगित गरिएको हो । नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाले यस प्राकृतिक अवरोधका कारण देशको मुख्य विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानहरू प्रभावित भएको जानकारी दिनुभयो ।
मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म १६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् भने सातवटा उडान ढिला भएका छन् र पाँचवटाको समय तालिका परिवर्तन गरिएको छ । यसबाट सिंगापुर, हङकङ, सिड्नी, सोल, दोहा, एम्स्टर्डम र क्वालालम्पुर जस्ता प्रमुख गन्तव्यका उडानहरू प्रभावित भएका छन् । आन्तरिक सेवातर्फ लाम्पुङ, देनपासार र सुराबायाका चार उडान रद्ध हुनुका साथै एउटा उडानको मार्ग परिवर्तन (डाइभर्ट) गरिएको छ ।
सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलका अतिरिक्त जकार्ताको हालिम पेर्डानाकुसुमा, तांगेराङको बुडियार्टो र लाम्पुङको राडिन इन्टेन २ विमानस्थल पनि अस्थायी रूपमा बन्द गरिएका छन् । विमानस्थलहरूको यो आकस्मिक बन्दबाट करिव २३ हजार यात्रुहरू प्रभावित भएका छन् । यद्यपि, विमानस्थलको पार्किङ क्षेत्र (एप्रन) मा रहेका १७० वटा विमानहरू भने सुरक्षित रहेको महानिर्देशक लुकमानले पुष्टि गर्नुभयो ।
हाल उड्डयन अधिकारीहरूले ज्वालामुखीको गतिविधि र वायुमण्डलमा खरानीको घनत्वबारे निरन्तर अनुगमन गरिरहेका छन् । मौसम विज्ञान विभाग, विमानस्थल सञ्चालक र एयर नेभिगेसन सेवा प्रदायकहरूसँगको समन्वयमा अवस्थाको मूल्याङ्कन गरी उडानहरू पुनः सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply