२०८२,२,२२
आज जुन ५ तारिख विश्व वातावरण दिवसः प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व नाराका साथ नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।
राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।नेपालमा प्लाष्टिक प्रयोगको इतिहास त्यति लामो नभए पनि छोटो समयमै यसको अत्यधिक प्रयोगका कारण यसले मानव स्वास्थ्य र वातावरणमा असर गरेको छ । नेपालमा व्यापारिक, औद्योगिक र घरायसी प्रयोगका सामग्रीको रूपमा जताततै पोलिथिन झोला र अन्य प्लाष्टिकजन्य सामग्रीहरू प्रयोग गर्ने गरिएको छ । बढ्दो जनसंख्या र विलासी जीवनशैलीसँगै फोहोरमा प्लाष्टिकको मात्रा निरन्तर बढिरहेको छ । शहरका ढलहरू पोलिथिन फोहोरहरूले भरिंदा सडकमै ढल बग्ने गरेको देखिन्छ । प्लाष्टिकका अन्य सामग्री र पोलिथिनका झोला र प्याकेटहरूले गर्दा सिंचाइका कुलोहरू पुरिंदै र साँघुरिंदै गएका छन् । प्लाष्टिकले गर्दा कुलो सरसफाइ र मर्मत गर्न कठिन हुँदै गएको छ । खोलामा पोलिथिन फोहोरको मात्रा बढेकोले खोलाहरू पुरिने र बहाव मार्ग परिवर्तन हुने क्रम जताततै बढिरहेको छ ।
राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा विसर्जन हुने गरेको छ । आज गैरकानुनी रूपमा माछा मार्ने विरुद्धको सङ्घर्ष दिवस पनि हो । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी रूपमा माछा मार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा एफएओको जोड छ । यसरी हरेक वर्ष एक करोड १० लाखदेखि दुई करोड ६० टन माछा मारिँदा अर्बौँ डलर हानी हुने गरेको एफएओले जनाएको छ । ०००




