जेठ १४ बुधबार ।
आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट प्रस्तुत हुँदा विपक्षीहरूले संसद् अवरोध नगर्ने भएका छन् ।
भोलि, १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन् ।
संसद् भवन बाहिर प्रतिक्रिया दिँदै कार्यबाहक प्रवक्ता मनिष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताए । ‘संवैधानिक प्रक्रिया अनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने ।माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा जस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि बजेट प्रस्तुत हुँदा संसद् अवरोध नगर्ने तयारी गरेको छ । ‘बजेट आउन दिन्छौं, तर अरू कुरामा हाम्रो अडान कायम रहन्छ,’ राप्रपाका उच्च स्रोतले भन्यो ।




