बैेशाख ३० मंगलबार ।
अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।
गएरातिदेखिको बर्षाका कारण माप्तीस्थित रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अनुसार बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडकमा थप क्षति पुर्याएको छ ।
प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको छ । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा त्यो ठाउँमा अस्थायी रूपमा बनाइएको डाइभर्सन बगेको हो । राजमार्गमा अलपत्र केही यात्रुको उद्धार गरेको प्रहरीले जनाएको छ । यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता एक महिलाको खोजी शुरु गरिएको प्रहरीले जनाएको छ । पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा स्थानीय ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी हुन् ।
मेला गएर फर्किने क्रममा खोलामा आएको बाढीले उनलाई बगाएको हो । आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजी शुरु गरिएको हो । ०००





