काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा दिनुभएका विमलेन्द्र निधिले राजीनामा फिर्ता लिनुभएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा फिर्ता गरेर जिम्मेवारीमा फर्किन आग्रह गरेपछि निधिले राजीनामा फिर्ता लिएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउँदा आफूसँग सल्लाह नगरिएको भन्दै निधिले पदबाट राजीनामा दिएपनि स्वीकृत भने भएको थिएन ।
राजीनामा फिर्ता लिने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायत केही नेताले बुधबार राति निधिसँग छलफल गर्नुभएको थियो ।
छलफलमा सभापति देउवाले प्रहरी महानिरीक्षक नियुक्ति तथा प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा भएको असमझदारी हटाएर सँगै अघि बढ्न निधिलाई आग्रह गर्नुभएको थियो ।