काठमाडौं, ३० जेठ । नेपालमा रहेको साउदी दुतावास शैक्षिक प्रमाणपत्र अनिवार्य गर्ने निर्णयबाट पछि हटेको छ । सोमबारदेखि लेबरका रुपमा साउदी अरब जाने कामदारले शैक्षिक प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने नयाँ नियम लागु गर्ने भनिएको थियो । यद्यपि सोमबार शैक्षिक प्रमाणपत्र अनिवार्य नगरी दुतावासले निवेदन लिएको छ । दुतावासले शैक्षिक प्रमाणपत्र अनिवार्य गर्ने सूचना जारी गरेपछि चौतर्फी विरोध सुरु भएको थियो । साउदी अरबको निर्णयबारे नेपाल सरकारले समेत चासो देखाएपछि सो निर्णयपछि दुतावास पछि हटेको हो ।
साउदीको सो निर्णयले लेबर काम गर्न जाने नेपालीहरुलाई मार पर्ने देखिएको थियो । नेपाली कामदारका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रुपमा चिनिएको साउदी अरब हो । नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित साउदी दुतावासबाट प्रमाणित भएको शैक्षिक प्रमाण पेश गरेमा मात्र भिसा जारी हुने जनाइएको थियो ।
गत वर्ष साउदीमा १ लाख २५ हजार २३७ नेपाली गएका थिए । साउदीसहित खाडी मुलुकमा जाने अदक्ष कामदारको संख्या नेपालमा धेरै छ । वैदेशिक रोजगार विभागका अनुसार खाडीमै निर्माण क्षेत्रमा काम सिकेर दक्ष हैसियतमा पुगेकाहरुसँग समेत शैक्षिक योग्यता छैन् ।
अहिलेसम्म अरबी भाषा र काममा दक्ष भए पुग्ने थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरबले शैक्षिक योग्यताको प्रमाणपत्र मागेको भन्दै भिसाको लागि आवेदन दिने काम बन्द गर्न आग्रह गरेको थियो । व्यवसायी संघले साउदी सरकारले यो निर्णय सच्चाउनुपर्ने अडान लिदै समस्या हल नगरेसम्म भिसाका लागि आवेदन नदिने चेतावनी दिएको थियो ।