काठमाडौं, २५ पुष । भिएआर प्रविधि प्रयोग गरिएको पहिलो खेलमा ब्राइटन विजयी, क्रिष्टल प्यालेसमाथि २–१ को जित दर्ता गरी ब्राइटन एफए कपको चौंथो चरणमा प्रवेश ।
क्रिष्टल प्यालेसलाई पराजित गर्दै ब्राईटन एफए कप फुटबलको चौंथो चरणमा उक्लिएको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा ब्राईटनले क्रिष्टल प्यालेसलाई २–१ ले पराजित गरेको हो । ब्राइटनको जितमा ग्लेन मुरे र डेल स्टेफेन्सले गोल गरे ।
खेलमा एक एक गोलको बराबरी भएको अवस्थामा मुरेले आफ्नो पुरानो क्लब क्रिस्टल प्यालेसविरुद्ध निर्णायक गोल गरेका हुन् । खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि प्रयोग गरिएको थियो । इङ्ल्यान्डमा कुनै पनि प्रतिस्पर्धात्मक फुटबल खेलमा पहिलो पटक यो प्रविधि प्रयोग गरिएको हो ।
खेलका क्रममा रेफ्रीलाई निर्णय दिन कठिन भएको अवस्थामा यो प्रविधिको सहायता लिन पाईन्छ । गोल, पेनाल्टी, सिधा रातो कार्ड र खेलाडी पहिचानमा समस्या हुँदा भिएआर प्रविधि प्रयोग गर्न पाईने व्यवस्था छ ।