काठमाडौं, १६ पुस । दुई सातामा नेपाल स्टक एक्स्चेन्ज नेप्सेले ९४ अंक गुमाउँदा सेयर बजारमा कारोबार रकम भने क्रमिक रुपमा वृद्धि भएको देखिएको छ ।
अघिल्लो साताको तुलनामा चार दिन मात्र कारोबार भए पनि बजारमा कारोबार रकममा चार प्रतिशतले वृद्धि भएर दुई अर्ब ६८ करोड रुपैयाँको खरिद(बिक्री भएको छ । बजारमा केही लगानीकर्ता पनि प्रवेश गरेको संकेत पाइन्छ, ।
यद्यपि नेपाल टेलिकम र स्ट्यान्डर्ड चार्टर्ड बैंकको मात्रै सातामा ७३ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । कम्पनीहरुले घोषणा गरेको लाभांश प्राप्त गर्ने अन्तिम साता भएकाले पनि यी दुईको कारोबार बढेको हो ।
आगामी दिनमा बजारमा कारोबार रकममा कति वृद्धि हुन्छ, सोही आधारमा विश्लेषण गर्न सकिनेछ । कारोबार रकममा क्रमिक सुधार भएमा बजारमा वृद्धिको अपेक्षा गर्न सकिन्छ ।
तथापि, १४ सयमा टेवा परीक्षण गरिरहेको नेप्सेप्रति लगानीकर्ता आशावादी देखिन्छन् । हरेक शतक विन्दुलाई मनोवैज्ञानिक तहको रुपमा हेर्ने चलन छ । यस्तो तहमा बजार परिसूचकले टेवा पाउने विश्वास गरिन्छ ।
वर्ष दिनयताको बजार प्रवृत्ति हेर्ने हो भने नेप्सेले सातामा बनाएको शुरु, उच्च, न्यून र अन्तिम विन्दुको आधारमा बनाइएको मैनबत्ति चार्टले दुई पटकसम्म १४ सय विन्दुमा टेवा पाएको छ । उक्त टेवा दरिलो भने देखिएको छैन ।
बजार विश्लेषकहरु १४ सयमा नेप्सेले टेवा पाएर डेढ सय अंकसम्म बढ्ने सम्भावना देख्छन् । ‘१४ सयमा टेवा पाएमा १५५० देखि १५८० सम्म नेप्से पुग्न सक्ने देखिन्छ,’ सेयर विश्लेषक विष्णुप्रसाद बस्याल भन्छन् ।
रेखाचित्रले पनि नेप्सेले टेवा पाएर बढ्न थालेमा १५५० विन्दुमा प्रतिरोधको सामना गर्नुपर्ने संकेत गरेको छ ।





