एजेन्सी । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया रक्सी नीतिको विषयमा सोधपुछ गर्न सीबीआई कार्यालय पुगेका छन्। सिसोदिया घरबाट निस्किनेबित्तिकै झण्डा र ब्यानर बोकेका समर्थकले उनलाई स्वागत गरेका थिए । सो क्रममा समर्थकले केन्द्र सरकारविरुद्ध नाराबाजी गरेका थिए । सीबीआई कार्यालय जानुअघि सिसोदिया राष्ट्रपिता महात्मा गान्धीको स्मृतिस्थल राजघाट गएका थिए।
केही समय यहीँ बसेपछि उनी आफ्ना समर्थकहरूसँग ¥यालीको रूपमा सीबीआई कार्यालय पुगेका थिए । आफूलाई भगत सिंहको अनुयायी भन्दै सिसोदियाले आफू देशका लागि शहीद बनेको बताए ।
सीबीआईको कारबाहीबारे मुख्यमन्त्री अरविन्द केजरीवालले आज सिसोदियालाई सोधपुछकालागि सीबीआई मुख्यालयमा बोलाइएको बताए ।
सिसोदियाले आफ्नो कारको सनरुफबाट बाहिर निस्केर समर्थकहरुलाई अभिवादन गरे । उनी समर्थकको भीड लिएर सिधै राजघाटतर्फ लागे । त्यसपछि उनी सीबीआईको कार्यालय पुगेका थिए ।
सीबीआई कार्यालय पुग्नुअघि उनले जनतालाई सन्देश दिँदै भने, ‘जब म टिभी च्यानलमा थिएँ । राम्रो तलब थियो, एंकर थिए, जीवन राम्रै चलिरहेको थियो । सबै छाडेर केजरीवालसँग आए । बस्तीमा काम गर्न थाले । आज मलाई जेल पठाउँदा मेरी श्रीमती घरमा एक्लै हुनेछिन् । उनी निकै बिरामी छिन् । छोरा विश्वविद्यालयमा पढ्छ । ख्याल गर्नुपर्छ।’
उनले थप भने, ‘शिक्षामन्त्री मनिष चाचा जेल गए अनि बिदा भयो भनेर नसोच्नुहोस् । बिदा हुनेवाला छैन । मैले अपेक्षा गरेजस्तै मेहनत गरिरहेको छु।’




