काठमाडौँ ।
पूर्वराजदूत दीपककुमार उपाध्यायले नयाँ र पुरानो पुस्ताका नाममा समाजलाई विभाजित गर्दै मुलुकलाई कमजोर बनाउने दिशातर्फ अघि बढिरहेको त छैनौँ भन्ने प्रश्न गर्नुभएको छ ।
ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै उपाध्यायले नयाँ र पुरानो पुस्ताबीच दोषारोपण गरेर मुलुकको हित हुन नसक्ने बताउनुभएको हो । उहाँले सरकार आउने–जाने क्रम चलिरहने भएपनि मुलुकको भविष्य कतातर्फ जाने भन्ने प्रश्न महत्वपूर्ण रहेको बताउँदै राज्य सञ्चालनदेखि नागरिक तहसम्म पारदर्शिता आवश्यक रहेको बताउनु भयो । उपाध्यायले नागरिकलाई केन्द्रमा राखेर राज्यप्रतिको कर्तव्य, दायित्व र जवाफदेहिताबारे सचेतना अभिवृद्धि गर्न स्थापित पुस्ताले भुमिका खेल्नुपर्ने बताउनु भयो । नयाँ पुस्तामाझ पुरानो पुस्ताले आफ्नो अनुभव साझा गर्नुपर्ने उद्देश्यले आफू अभियानमा सहभागी भएको उहाँको भनाइ छ । नेपालसँगैका मुलुकले आर्थिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको उल्लेख गर्दै उहाँले सरकारले परिणाम दिनेगरी काम गर्नुपर्ने बताउनु भयो ।
आफ्नो पुस्तासँग अहिलेको जस्तो प्रविधि नभए पनि नेपालको संस्कृति, परम्परा र इतिहासप्रति गर्व गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले नेपालको भौगोलिक अवस्था र सभ्यतामा आधारित विकास मोडल अवलम्बन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।





