सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी छः मुकुल ढकाल | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी छः मुकुल ढकाल

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले वर्तमान सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी रहेको टिप्पणी गर्नुभएको छ ।
ललितपुरको पुल्चोकमा सोमवार आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै ढकालले जेन-जी आन्दोलनबाट स्थापित शक्ति नभई अर्कै शक्तिले अहिले सरकार सञ्चालन गरिरहेको दाबी गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनले स्थापित राजनीतिक शक्तिलाई झकझकाउने र सुधार्ने उद्देश्य राखेको भए पनि आन्दोलन नियन्त्रणमा लिएर अर्कै शक्तिले पुराना राजनीतिक दल र नेताहरूलाई पूर्णरूपमा विस्थापित गरेको बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध व्यक्तिहरूमा समेत राजनीतिक अनुभवको कमी रहेको आफूले देखेको बताउनु भयो । अचानक आएको जिम्मेवारीका कारण वर्तमान सरकारमा अनुभवको कमी देखिएको उहाँको भनाइ छ । तर फागुन २१ गतेको निर्वाचनपछि ठूलो जनमतबाट सरकारलाई अनुमोदन गरिसकेकाले त्यस जनमतको अवमूल्यन गर्न नहुने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जेन–जी आन्दोलन जुन भदौ २३ मा भयो, त्यसमा जसले आन्दोलन ग¥यो, त्यो आन्दोलन गरेको शक्ति आज सत्तामा छैन । यो छुट्टै शक्ति आएर स्थापित भएको हो । फागुन २१ को चुनावमा जनताले अब देश बन्छ, अब देश बनाउनुपर्छ भन्ने आधारमा भोट दिएका हुन् ।’
उहाँले निर्वाचनमा जनताले देश निर्माणको अपेक्षासहित मतदान गरेको उल्लेख गर्दै अहिले सरकारको नेतृत्व गरिरहेको समूहमा रहेको अनुभवको कमीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले सरकारले मुलुक र नागरिकको पक्षमा काम गर्ने दिशामा अघि बढ्नुपर्ने बताउनु भयो ।

Leave a Reply