काठमाडाैं । नेपालको राजनीतिक इतिहास लामो संघर्ष, विद्रोह र उतार–चढावको श्रृंखलाले भरिएको छ । २००७ साल यताका प्रजातान्त्रिक आन्दोलन, पञ्चायती व्यवस्था, जनआन्दोलन, जनयुद्ध र २०६२र२०६३ को जनआन्दोलनले पटक पटक नयाँ व्यवस्था जन्मायो । अन्ततः विस २०६२र६३ को जनआन्दोलनले मुलुकमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरियो । मुलुकमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा हुँदा समेत राजनीतिले संस्थागत आकार लिन सकेन । जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले समेतम मुलुकमा समावेशी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्न सकेनन् । त्यसैको परिणाम हो गत भदौ २३ र २४ मा भएको जेन–जी पुस्ताको आन्दोलन । जेन–जी आन्दोलनलाई विश्लेषकहरूले भ्रष्टाचार, असमानता र बेरोजगारीका कारण उत्पन्न भएको विश्लेषण गरिरहेका छन् ।
जनतामा शासकप्रति बढ्दै गएको वितृष्णा र आक्रोशका बीच नवयुवाहरुले चलाएको अभियानले समाजका सबै पक्ष र वर्गलाई आकर्षित गरेको कारण जेन–जी आन्दोलन सफल भएको राजनीतिक विश्लेषक रमेश अधिकारीको भनाइ छ । अधिकारीले उक्त आन्दोलन अप्रत्याशित भएपनि मुलुकको शासन प्रणालीको परिवर्तनको लागि आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको प्रतिवेदन र तथ्यांकले नेपाल भ्रष्टाचारको उर्वर भूमि बनेको देखाएको उल्लेख गर्दै यसको अन्त्य गर्न जेन–जी आन्दोलन कोशेढुंगा सावित हुने बताउनु भयो । उहाँले जेन–जी आन्दोलन हुनुका मुख्य कारणहरु भ्रष्टाचार, बेरोजगारी र असमानता रहेको बताउनु भयो । उहाँले हुने खाने र नहुनेबीचको खाडल र असमानताले समाजमा सिर्जना गरेको विभेदले नै युवाहरुलाई सडकमा आउन बाध्य पारेको बताउनु भयो । समाजका सबै तह र तप्काबीच विचार आदान प्रदान गर्ने मुख्य आधार रहेको सामाजिक सञ्जाल बन्द गर्ने तत्कालीन सरकारको निर्णय आन्दोलनको उत्प्रेरक भएको उहाँको तर्क छ ।
जेन–जी पुस्ताको आन्दोलनपश्चात मुलुकमा व्यवस्था नै परिवर्तन भएको भाष्य निर्माण गरिएको उल्लेख गर्दै उहाँले यसलाई खारेज गर्नुभयो । नेपालको संविधान, २०७२ मै टेकेर अन्तरिम सरकार गठनदेखि प्रतिनिधि सभा विघटनसम्म भएको उल्लेख गर्दै उहाँले अहिले मुलुकको अवस्था परिवर्तनको दिशामा अघि बढेको दाबी पनि गर्नुभयो । जेन–जी आन्दोलनको एजेण्डा व्यवस्था परिवर्तन गर्ने नभएकोले गलत भाष्य स्थापित नगर्न सबैमा आग्रह गर्नुभयो । जेन–जी पुस्ताको आन्दोलन पश्चात विकसित घटनाक्रमहरुलाई छिमेकी राष्ट्रहरुले सकारात्मक रुपमा लिनु महत्वपूर्ण भएको पनि बताउनुभयो । नेपाल भूराजनीतिक केन्द्रबिन्दु भएको कारण विदेशी शक्तिको हस्तक्षेप हुनसक्ने परिस्थिति तत्कालको टरेको उहाँको बुझाई छ । उहाँले नेपालको अगामी निर्वाचन सम्पन्न गराउनेदेखि लोकतन्त्रलाई सुदृढिकरण गर्ने छिमेकी राष्ट्रहरुको प्रतिवद्धताले नेपाललाई लयमा फर्काउने विषयमा सहयोग हुने आशा गर्न सकिने बताउनुभयो ।
उहाँले जेन–जी पुस्ताको आन्दोलनपछि श्रीलंकाजस्तै नेपाल पनि राजनीतिक स्थायित्व र आार्थिक समृद्धिको दिशामा अघि बढ्ने विश्वास रहेको बताउनु भयो । यद्यपी राजनीतिक दलहरुले सत्ता छोड्दैमा भइहाल्छ भन्ने भ्रममा कोही पनि पर्नु नहुने उहाँको भनाइ छ । उहाँले मुलुकको शासन प्रणालीमै सुधारको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटबाट आशा राख्ने ठाउँ रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारलाई मध्यावधि निर्वाचन सम्पन्न गराउनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि संरचना निर्माण गर्ने र मुलुकमा शान्ती स्थापना र सुशासन कायम गर्नुपर्ने कार्यभार रहेको बताउनु भयो । मध्यावधि निर्वाचन गराउन असम्भव नभएपनि सोचेजस्तो सहज नभएको उहाँको बुझाइ छ ।
राजनीतिक दलभित्रको लोकतान्त्रीकरणको बहस
जेन–जी पुस्ताको आन्दोलनले राजनीतिक दलहरुलाई सबैभन्दा ठूलो चुनौती दिएको छ । सुध्रिने कि सक्किने रु राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेताहरुले समेत नेतृत्व हस्तान्तरणका लागि पार्टी नेतृत्वमाथि दबाब दिन थालेका छन् । अधिकारीले राजनीतिक दलहरुभित्रको समाजिक संरचनामा व्यापक सुधारको र परिमार्जन आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक दलको नेतृत्व तहकमा युवा पुस्तालाई समेत समेट्नुपर्ने स्पष्ट सन्देश जेन–जी आन्दोलनले दिएको बताउनुभयो । उहाँले सबै तहलाई सामाजिक र युवा सहभागिमुलक बनाउन सकिए मात्रै मुलुक सकारात्मक दिशामा अगाडि बढ्नसक्ने भन्दै उहाँले तीन तहको सरकारमा पनि युवा सहभागिता बढाउन आवश्यक रहेको बताउनुभयो ।
जेन–जी पुस्ताको शान्तीपूर्ण आन्दोलन हिंश्रक बन्दा ठूलो मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको छ । हालसम्म ७४ जनाको मृत्यु भएको छ भने संयौं अझै उपचाररत छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ ।





