काठमाडौं ६ फागुन । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदलाई आफ्नो राजनीतिक लाभको अचुक अस्त्र बनाउन खोजिरहेका छन् । यही अस्त्रमार्फत् उनी पाँचवर्ष देशको प्रधानमन्त्री बनिरहने दाउमा छन् ।
प्रचण्डले विश्वासको मत लिंदा यो प्रतिनिधि सभाको कार्यकालमा उपलब्धिपूर्ण कार्य गर्ने बोलेका थिए । त्यतिबेलै उनी पाँच वर्ष प्रधानमन्त्री बन्ने मौका खोजिरहेको बुझ्न सकिन्थ्यो । नभन्दै उनी अहिले राष्ट्रिय सहमतिमा जोड दिदै नेकपा एमालेलाई राष्ट्रपति नदिने रणनीतिमा लागिसकेका छन् ।
शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि पनि ओलीले राष्ट्रिय सहमतिमै जोड दिए । ओलीले भने पौष १० गते आफूहरुबीच भएको सहमति सम्झाए । जसमा प्रधानमन्त्री प्रचण्डलाई दिएपछि राष्ट्रपति र सभामुख एमालेले पाउने भद्र सहमति बनेको थियो । तर, विश्वासको मतमा काँग्रेस पनि प्रचण्डकै पक्षमा उभिएपछि नयाँ घटना विकास भइसकेको थियो ।
काँग्रेसले विश्वासको मत त्यत्तिकै दिएको थिएन भन्ने खुलिसकेको छ । उसलाई राष्ट्रपति दिनेमा प्रचण्ड लचिलो छन् । यसका लागि उनले यो प्रतिनिधि सभाको कार्यकालभरी प्रधानमन्त्री पदमा साथ खोजेका छन् । जसमा काँग्रेस लचिलो छ ।
काँग्रेस र एमालेबीचको टकरावमा प्रचण्डले प्रधानमन्त्री बन्दै लाभ लिइसकेका छन् । अब उनी थप लाभ लिने दाउमा छन् ।
राष्ट्रपतिकै आकांक्षाले काँग्रेस र एमाले दुवै प्रचण्डका विवादास्पद निर्णयको पनि विरोध गर्न सकिरहेका छैनन् । जसको उदाहरण हो जनयुद्ध दिवसमा सार्वजनिक बिदा र हरेक वर्ष क्यालेण्डरमै समावेश गर्ने सरकारको निर्णय ।
प्रचण्ड संसदीय राजनीतिमा चतुर खेलाडी निस्किइसकेका छन् । उनी पहिलो संविधानसभामा पार्टीलाई पहिलो बनाउन सफल भएपनि खेलमा कमजोर देखिएका थिए । तर, चारपटकको संसदीय चुनावपछि प्रचण्ड चतुर निस्किएका छन् । उनी पार्टी तेस्रो बनेर खस्कदो मतका बीच सफल देखिएका छन् सत्ता राजनीतिमा । यही रणनीतिका साथ उनी पाँच वर्ष प्रधानमन्त्री चलाउने रणनीतिलाई बढाइरहेका छन् ।-File Photo




