काठमाडौं । आइतबार पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको पहिचान भएका शव परिवारलाई आज बुझाइने भएको छ ।
दुर्घटनामा मृत्यु भई पहिचान भएकाहरुको आज बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पुर्याएर सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
पहिचान नभएका, काठमाडौं घर भएका र विदेशी नागरिकहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ । विमानमा सवार ७२ मध्ये ६८ जनाको शव संकलन भइसकेको छ भने शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
अब विमानमा सवार ४ जनाको शव मात्र नभेटिएको कार्यालयको भनाइ छ । खोंचमा विमान दुर्घटना भएकोले आइतबार राति खोजि कार्य स्थगित गरेर आज बिहानैदेखि सुरु गरिएको छ ।