सन्दीपलाई पुरानै लयमा फर्कन कठिन (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

सन्दीपलाई पुरानै लयमा फर्कन कठिन (भिडियो रिपोर्ट)

काठमाडौं । नाम, दाम अनि शान । क्रिकेटर सन्दीप लामिछानेको परिचय थियो । खेल जीवनको उच्च लयमा रहँदा उनीमाथि नाबालिगमाथि बलात्कारको गम्भीर आरोप लाग्यो । विदेशमा रहेका उनी फर्कनेवित्तिकै विमानस्थलबाट प्रहरीले हथगडी लगाएर लग्यो । सन्दीप जेल परे । शुक्रबार उनी २० लाख धरौटीमा रिहा भएका छन् । अभियोगबारे अन्तिम फैसला भइसकेको छैन । तर, सन्दीपको खेल भविष्यबारे चासो उत्तिकै छ ।

पहेंलो पोशाक र टाउकोमा हरियो हेडब्यानमा केन्द्रीय कारागारको मूलढोकाबाट निस्कँदा सन्दीप थकित जस्तै देखिन्थे । राष्ट्रिय क्रिकेट टोलीको कप्तान रहँदा उनमा जुन जोस र आत्मविश्वास देखिन्थ्यो त्यो हराईसकेको थियो । तैपनि, मिडियासामु प्रस्तुत हुँदा कृत्तिम मुस्कुराहटसँगै नमस्कार गर्न थाले । सन्दीपलाई अदालतले बोल्नमा पनि बन्देज लगाएको छ । तर, मिडियामैत्री स्वभावका सन्दीपको बोली बल्लतल्ल फुट्यो । धरौटीमा शसर्त रिहा गर्ने आदेश उच्च अदालत पाटनले दिएपनि मिडियामा बोल्न देखि विदेश जान रोक लगाएको छ । यतिसम्मकी काठमाडौं उपत्यका बाहिर जानुपर्दा उनले गौशाला प्रहरी प्रभागलाई जानकारी गराउनुपर्छ ।

कुनैबेला उनका लागि विदेशयात्रा पानीपधेँरो जस्तै थियो । आइपिएललगायत विश्वका लोकप्रीय क्रिकेट लिग खेल्न विदेश गइरहने सन्दीप मुद्दाको अन्तिम फैसला नभएसम्म देशभित्रै रहनुपर्ने गरी राहदानी रोक्का राखिएको छ । अब उनी खेल जीवनमा कहिले फर्कने या नफर्कने अन्तिम फैसलाले मात्र टुंगो लगाउनेछ ।

सन्दीपले जेलभित्रै क्रिकेट खेलेको र प्रशिक्षण दिएको विषयले निकै चर्चा पाएको थियो । यसबाट उनको क्रिकेट मोह अझै बुझ्न सकिन्छ । तर, बलात्कारको मुद्दामा अल्झिनुपर्दा उनका लागि लामो समय खेर जाने निश्चित जस्तै छ । यसकारण पनि सन्दीपको खेलमा शानदारसँग फर्कने सम्भावना कमजोर छ ।

सन्दीप मात्र त्यस्ता खेलाडी होइनन् जो बलात्कारको मुद्दामा जेल गए । कुनैबेलाका विश्व हेभिवेट बक्सर माइक टाइसन पनि बलात्कारको अभियोगमा जेल परेको इतिहास छ । रोनाल्डो र नेयमारमाथि पनि बलात्कारको अभियोग लाग्यो । खेलमा सफलता हासिल गरेर नाम, दाम अनि शान कमाउन जति कठिन छ त्यत्तिकै कठिन छ अनुशासनमा बसेर चरित्र जोगाउन । सन्दीपका बारे अन्तिम फैसला अदालतले गर्ने नै छ । तर, उनको खेल जीवनको उर्वर समय खेर जाने भइसकेको छ । यसकारण उनलाई फेरि पुरानै लयमा फर्कन र विश्वस्तरको लिग खेल्ने अवस्था पुनः निर्माण गर्न कठिन हुनसक्छ ।

Leave a Reply