मलेसियामा खाद्यवस्तुको मूल्य ८ र रासायनिक मलको मूल्य २० प्रतिशतसम्म बढ्ने प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

मलेसियामा खाद्यवस्तुको मूल्य ८ र रासायनिक मलको मूल्य २० प्रतिशतसम्म बढ्ने प्रक्षेपण

काठमाडौं ।

मलेसियामा खाद्यवस्तु र रासायनिक मलको मूल्यमा उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरिएको छ । मलेसियाका आर्थिक मामिला मन्त्री अकमल नसरुल्लाह मोहम्मद नासिरले सोमवार संसदमा सम्बोधन गर्दै आयातित सामग्रीमाथिको उच्च निर्भरताका कारण खाद्यवस्तुको मूल्य करिव ८ प्रतिशत र रासायनिक मलको मूल्य १५ देखि २० प्रतिशतसम्म बढ्नसक्ने जानकारी दिनुभएको हो । मन्त्री अकमलकाअनुसार मलेसियामा प्रयोग हुने रासायनिक मलमध्ये ६३ प्रतिशत आयात हुने गरेको छ । यसले गर्दा विश्वव्यापी आपूर्तिमा उत्पन्न हुने अवरोधका कारण मुलुकको कृषि क्षेत्र प्रत्यक्ष जोखिममा परेको उहाँले उल्लेख गर्नुभयो । बढ्दो उत्पादन लागतका कारण विशेषगरी साना तथा मझौला उद्योगहरू (एसएमई) बढी प्रभावित हुने देखिएको छ । सिमित वित्तीय क्षमताका कारण यी उद्योगहरूमा नगद प्रवाहको समस्या देखिन सक्ने भन्दै मन्त्री अकमलले सरकारले अत्यावश्यक वस्तुको सुरक्षा सुनिश्चित गर्न र मूल्य नियन्त्रणका लागि वितरण प्रणालीमा सुधार ल्याउन काम गरिरहेको बताउनु भयो ।
विश्वव्यापी आपूर्ति श्रृंखलामा देखिएको संकटलाई मध्यनजर गर्दै सरकारले दीर्घकालीन रणनीति तय गरेको उहाँले जानकारी दिनुभयो । हाल मलेसियामा चामलको मौज्दात आगामी ५ देखि ६ महिनाका लागि पर्याप्त रहेको छ भने कुखुराको मासु, अण्डा, माछा, दूध र फलफूल जस्ता अत्यावश्यक खाद्यवस्तु कम्तीमा एक महिनाका लागि पर्याप्त रहेको जनाइएको छ ।
सरकारले वर्तमान परिस्थिति सामना गर्न चारवटा मुख्य खम्बामा आधारित नीति अवलम्वन गरेको छ । जसमा नागरिकको सुरक्षा, आपूर्ति र मूल्यमा स्थिरता, उद्योग तथा साना व्यवसायलाई सहयोग र दीर्घकालीन आर्थिक सवलीकरण रहेका छन् । यसका साथै लक्षित वर्गका लागि नगद सहायता र इन्धन अनुदानका कार्यक्रमहरूलाई निरन्तरता दिइने मन्त्री अकमलले स्पष्ट पार्नुभयो ।

Leave a Reply