इपिएल क्रिकेट : पोखरा राइनोज र विराटनगर वारियर्स विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

काठमाडौं, ७ पुस । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गत शुक्रबार भएका खेलहरुमा पोखरा राइनोज र विराटनगर वारियर्स विजयी भएका छन् ।

लिगमा दोस्रो जित निकाल्ने क्रममा पोखराले काठमाडौं किङस इलाभेनलाई ६ विकेट र विराटनगरले चितवन टाइगर्सलाई ७१ रनले पराजित गरे । काठमाडौंको यो प्रतियोगिताको चौथो खेलमा तेस्रो हार हो भने तीन खेल खेलेको चितवन अहिलेसम्म जितबिहीन छ ।

कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा काठमाडौंले दिएको ९९ रनको लक्ष्य पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । पोखराका लागि इर्साउल्लाहले ४५ रन बनाए भने सुनील धमलाले २० रन बनाए । काठमाडौंका सागर पुनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९८ रनको झिनो योगफल बनाएको थियो । काठमाडौंका लागि सागर पुनले ३६, राजु रिजालले १७ र सोमपाल कामीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । पोखराका लागि कप्तान शक्ति गौचन र विक्रम शोवले २– २ विकेट लिए । खेलको म्यान अफ द म्याच पोखराका इर्साउल्लाह चुनिए ।

यसैगरी दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७४ रन बनायो । उसका लागि बाबर हायतले विष्फोटक ब्याटिङ गर्दै ४२ बलमा ८१ रन बनाए । अंशुमन रथले पनि ४२ रन बनाए । राम्रो सुरुवात गरे पनि विराटनगरको ब्याटिङ इनिङको अन्त्यतिर धर्मराएको थियो ।

अन्तिम २ ओभरमा विराटनगरले ६ विकेट गुमाएको थियो । चितवनका भारतीय बलर प्रविन गुप्ताले अन्तिम ओभरको अन्तिम तीन बलमा ह्याट्रिक गरेका थिए । उनले खेलमा ५ विकेट लिए ।

१७५ रनको लक्ष्य पछ्याएको चितवन १८.२ ओभरमा १०३ रनमै समेटिएपछि विराटनगरको ७१ रनको जित सम्भव भयो । ठूलो लक्ष्य पछ्याएको चितवन सुरुवातदेखि नै धर्मरायो । चितवनका लागि भीम सार्कीले बनाएको २४ रन नै कुनै ब्याट्सम्यानले बनाएको सर्बाधिक स्कोर हो । चितवनलाई सस्तैमा समेट्न बसन्त रेग्मीले ३.२ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । त्यस्तै अभिनाश कर्णले पनि २ विकेट झारे । खेलको म्यान अफ द म्याच बिराटनगरका बाबर हायत चुनिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);