काठमाडौँ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले जनकपुर भ्रमणका क्रममा आफूलाई एउटा समूहले प्रवेश निषेध गर्न खोजेको घटनाप्रति आपत्ति जनाउँदै कानूनी राज्यमा सबै नागरिकलाई देशको जुनसुकै क्षेत्रमा निर्वाध रूपमा आवतजावत गर्न पाउने अधिकार भएको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । साउन पाँच गते जनकपुरको जानकी मन्दिर प्रवेश गर्ने क्रममा श्रम संस्कृति पार्टीका कार्यकर्ता हिन्दु सम्राट सेनाका कार्यकर्ताबाट लखेटिएका थिए । अध्यक्ष राईले उक्त घटनाको छानविन गरि दोषीलाई कानूनी कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराइसकेको पनि बताउनु भयो ।
उहाँले मेरो घरको छेउमा नआइजा, मेरो बाटो नहिँड भन्ने खालको व्यवहार भइरहेको उल्लेख गर्दै यो कानूनी राज्य हो कि जंगली राज्य भन्दै प्रश्न गर्नुभयो । उहाँले संसद सहमतिको थलो भएपनि सरकारले संसदलाई अपमानित गरिरहेको आरोप पनि लगाउनुभयो । सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र साहले जवाफ दिनैपर्ने जिकिर पनि गर्नुभयो । उहाँले सभामखु अर्यालले प्रधानमन्त्री रुलिङ नगरेको भन्दै तपाईंलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मुलुकको सीमा सुरक्षाको विषयमा सरकार गम्भीर नभएको आरोप लगाउनु भयो ।




