बुटवल । तानसेन-गुल्मी सडक पुनर्निर्माण सुरू भएको छ । दैनिक ६ घण्टा सवारी आवतजावत बन्द गरेर सडक निर्माण थालिएको हो । सडक डिभिजन पाल्पाका अनुसार पाल्पाको तानसेनदेखि गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सडक खण्ड स्तरोन्नति गर्न दैनिक ६ घण्टाका दरले १५ दिनका लागि बन्द गरिएको छ । तानसेन–रिडी सडक खण्ड मात्र पुनर्निर्माण सुरु गरिएको हो ।
आगामी १० पुससम्मका लागि दिउँसो ६ घण्टा सडक पूर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालयले जनाएको छ । तर, सुरक्षा निकायका गाडी र एम्बुलेन्सलाई भने चल्न दिइनेछ । अन्य गाडीहरू प्रत्येक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म बन्द रहनेछन् ।
सडक डिभिजनका अनुसार तानसेन-रिडी सडक खण्डको लघुवादेखि जोर्तेसम्मको सडक चौंडा गर्ने काम पनि जारी छ । सडक पूर्ण रूपमा बन्द गरेर काम सुरू गरिएकाले समयमै काम सकिने सडक डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए ।
तर, यात्रु र चालकले भने निर्माण व्यवसायीले सुस्त गतिमा काम गरेकाले सडक निर्माण समयमै सकिनेमा आशंका व्यक्त गर्ने गरेका छन् । यो सडक खण्डको ठेक्का अघिल्लो आर्थिक वर्षमै भएको थियो । तर, ठेक्का लिएको सडकमा ठेक्का अवधिको म्याद गुज्रिसक्दा पनि अझै काम सम्पन्न हुन सकेको छैन ।
दुई करोड लागतको सडक निर्माणका लागि दैनिक ६ घण्टा बन्द गरिएपछि यात्रुले भने सास्ती पाउने भएका छन् । यसबाट बुटवल हुँदै गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रुहरू प्रभावित हुनेछन् । डिभिजन सडक कार्यालयले भने सडक बन्द रहेको समयमा साना सवारीलाई जोर्ते, लुहुङ चण्डीभन्ञ्याङ बतासेडाँडाको सडक प्रयोग गर्न भनेको छ । तर, ठूला सवारीसाधन सञ्चालनमा भने समस्या हुने देखिएको छ ।