मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा स्थायी भौतिक संरचनासहितको कोभिड अस्पताल सञ्चालनको तयारी थालिएको छ ।
विज्ञहरुबाट तेश्रो भेरियन्टको कोरोना संक्रमण फैलने चेतावनी आइरहँदा सुन्दरहरैंचा नगरपालिकाले २५ बेडको स्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको हो ।
ठूलो संख्यामा कोरोना संक्रमण फैलिंदा समेत यसअघि कोभिड अस्पताल सञ्चालन नगरेको भन्दै नगरपालिकाको आलोचना भइरहेको अवस्थामा यसपटक भने सुन्दरहरैंचा नगरपालिकाले कोभिड विशेष अस्पताल सञ्चालनको तयारी थालेको छ ।
वडा नम्बर १ हरैंचामा रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई कोभिड विशेष अस्पताल बनाउन यतिबेला त्यहाँ रहेका पुराना भवनहरुको मर्मतको काम अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेले बताए । उनेले भने, : ‘अबको केहीदिनभित्र नै ५ वटा भवनमा २५ बेडको आइसीयु सेवा सहितको कोरोना विशेष अस्पताल सञ्चालन गरिने छ ।’
गतजेठ ३ गतेको कार्यपालिकाको बैठकले कोभिड विशेष अस्पताल निर्माण गर्ने भनि गरेको निर्णय अनुसार नगरपालिकाले काम अघि बढाएका नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताईन्।
उनले भनिन्: ‘अस्पताल सञ्चालन गर्न ५ जना मेडिकल अफिसर, १ जना रेडियोग्राफार १ जना विज्ञ डाक्टरसहित २६ जनाकर्मचारीको व्यवस्था नगरपालिकाले गरिसकेको छ । विज्ञहरुले कोभिडको तेश्रो भेरियन्ट फैलने चेतावनी दिएकाले नगरवासी बिरामी पर्दा उपचार गर्न टाढा लैजानु नपरोस् भन्ने उद्देश्यले कोरोना विशेष अस्पताल सञ्चालन गर्न लागिएका छौ. । ’
यसअघि प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेर दिँदै आएका सेवाहरुलाई यथावत राखी कोभिड अस्पताल सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
यतिबेला नगरपालिकाले १ जना इन्जिनियर र १ जना कर्मचारीलाई काम भइरहेको स्थलमै खटाएर गुणस्तरीय र पारदर्शी काम गराउनुका साथै चाँडै काम सक्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत डा. घिमिरेले जानकारी दिए ।
यसरी निर्माण गरिएको आइसियु सहितको कोरोना अस्पताललाई भविष्यमा कोरोना संक्रमण रोकथाम भएपश्चात नगर अस्पतालको रुपमा विकास गर्ने योजना रहेको छ । साथै सोही परिसरमा सर्पदंश उपचार सेवा समेत सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।