एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको स्वीकार गरेका छन् ।
अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियानमा मानवीय क्षति हुनसक्ने बाइडेनले स्वीकार गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
बाइडेनले अहिलेसम्म अफगानिस्तानबाट १३ हजार जनाको उद्धार गरिएको जानकारी दिए । अफगानिस्तानमा रहेका सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने वाचा गर्दै बाइडेनले अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको पनि उद्धार गर्ने बताए ।
तालिबानले अमेरिकाको पासपोर्ट भएकाहरुलाई विमानस्थल प्रवेशमा रोक नलगाएको भन्दै बाइडेनले अहिलेलाई थप सैनिक पठाउनु पर्ने अवस्था नरहेको स्पष्ट गरे । तर केही रिपोर्टहरुमा अमेरिकीहरुलाई विमानस्थल पुग्न कठिनाइ भएको उल्लेख छ ।