एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ’टोकियो ओलम्पिक’ पदक तालिकामा जापानलाई उछिन्दै चीन फेरि शीर्ष स्थानमा पुगेको छ । १४ स्वर्णसहित २९ पदक जित्दै चीन शीर्ष स्थानमा उक्लिएको हो । यस्तै १३ स्वर्णसहित ३६ पदक जितेको अमेरिका दोस्रो स्थानमा छ ।
१३ स्वर्णसहित २२ पदक जितेको जापान भने तेस्रो स्थानमा धकेलिएको छ । टोकियो ओलम्पिकमा अहिलेसम्म ३७ देशले स्वर्ण पदक जितेका छन् । रसियन ओलम्पिक कमिटी र अस्ट्रेलियाले सात÷सात स्वर्ण जितेका छन् । यस्तै, बेलायतले ५, दक्षिण कोरियाले ४, जर्मनी र फ्रान्सले तीन÷तीन स्वर्ण जितेका छन् ।
यस्तै नेदरल्यान्ड्स, इटली, क्यानडा, हङ्गेरी, स्लोभानिया, क्रोएसिया र कोसोभोले दुई÷दुई स्वर्ण जितेका छन् । त्यसैगरी, स्विट्जरल्यान्ड. रोमानिया, ब्राजिल लगायतका २१ राष्ट्रले एक÷एक स्वर्ण जितेका छन् । बुधबार महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी नेपालकी पौडीबाज गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन ।




