काठमाडौंमा पनि श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ दिए | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

काठमाडौंमा पनि श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ दिए

chhat-parwa

काठमाडौं, ९ कात्तिक । छठ पर्वका अवसरमा काठमाण्डौमा पनि श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी पुगी छठी माईको पुजा अर्चना गरिन् ।

राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई विधिपुर्वक अर्घ चढाई छठी माईको पुजा आराधना गरेकी छन् । काठमाण्डौँमा रहेका तराई मधेसबासीले राजधानी स्थित नजिकैको बागमती, विष्णुमति लगायतका नदी किनारमा गई सूर्यलाई अर्घ दिइ निष्ठा पुर्वक छठपूजा गरेका छन् ।

मिथिलाञ्चलको विशेष पर्वको रुपमा मानिदै आएको छठ पछिल्लो समय राजधानी लगायतका जिल्लामा पनि मनाउन थालिएपछि सबै तिर छठको रौनक बढेको छ ।

श्रद्धालु भक्तजनले सुर्यलाई अर्घ चढाउने क्रममा ठकुवा, कसार, केरा, उखु, भोगटे, मेवा मिष्ठान आदी प्रसादको रुपमा चढाएका छन् । ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको प्रतिक मानिन्छ ।

छठ पुजाका लागि बुधबार देखि नै राजधानीको बागमती किनार, विष्णुमति किनार, कमलपोखरी, गौरीघाट, गहना पोखरी लगायत स्थानमा घाट सिंगार्ने काम गरिएको थियो । नेपालको विशेष रुपले तराई—मधेश क्षेत्रमा मनाईने यो पर्व पछिल्लो समय राजधानी काठमाण्डौमा पनि भव्य रुपमा मनाउन थालिएको छ ।

त्यसैले पनि पछिल्लो समय राजधानीका नदी किनारामा छठको पुजा गर्न जाने ब्रतालुको संख्या बढ्न थालेको छ । राजधानी बाहिर जनकपुरको गंगासागर, धनुष सागर, दशरथ तलाउ, अर्गजा पोखरी, वीरगन्जको घडीअर्वा पोखरी लगायतका विभिन्न जलाशयमा पनि विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ दिइ छठपुजा गरिएको छ । भोलि अर्थात् शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस ब्रत विधिवत रुपमा सम्पन्न हुनेछ ।

यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने गर्दछन् ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाउने गरिन्छ । सरकारले छठ पर्वलाई धुमधामसँग मनाउन भन्दै विहीबार र सुक्रबार २ दिन सार्वजनिक विदा दिएको छ ।

ताजा समाचार