चितवन। चितवनको राप्ती नगरपालिका ३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्धाले राजमार्ग अवरुद्ध गरेका छन् ।
मंगलबार अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा स्थानीयवासिन्धा र प्रहरीविच झडप भएका हो ।स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गर्दै आएका छन् ।
प्रहरीले राजमार्ग खुलाउन खोज्दा भएको झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिएका छन् । उनले भिड नियन्त्रणका लागि गएका डीएसपीसमेत घाइते भएको जानकारी दिएका हुन् ।
अहिले पनि बाटो खुलाउने प्रयास जारी रहेको एसपी अधिकारीले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेकाले राजमार्ग बन्द गरेर अरु सर्वसाधारण नागरिकलाई दुःख नदिन एसपी अधिकारीले आग्रह गरेका छन् । तर प्रर्दशनकारीहरुले पोष्टमार्टम रिपोर्टमा तलमाथि नगर्न चेतावनी दिदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
उनीहरुले गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन् । युवाहरुको एक समूहले चौबिसकोठी चोकमा भ्रष्ट प्रशासन चाहिदैन, शान्ति सुरक्षा कायम गर, सुजिताको अत्मालाई शान्ति दे, हामीलाई न्याय दे भन्दै नारावाजी भन्दै नाराबाजी समेत गरेका थिए ।




