काठमाडौं, २८ चैत । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट सुरु गरिएको गैँडा गणना कार्य सकिएको छ ।
यही चैत ९ गतेबाट सुरु गरिएको गैँडा गणना शुक्रबार साँझ सकिएको हो ।
गैँडा गणनाको परिणाम पनि आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने बताइएको छ ।
पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गैँडा गणना थालिएको थियो।
हरेक पाँच÷पाँच वर्षमा गैंडा गणना गरिँदै आएको छ । यसअघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो । गएको वर्ष नै गणना गरिनु पर्ने भएपनि कोरोना महामारीका कारण एक वर्ष ढिला गरिएको हो ।
सन् २०१५ मा गरिएको गणना अनुसार नेपालमा कूल ६ सय ४५ वटा गैंडा भेटिएका थिए। तथ्यांकअनुसार चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा तीनवटा गैंडा भेटिएका थिए।
गैँडाको सङ्ख्या, प्रजनन् अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन यसतो गणना गरिँदै आएको हो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ ।
यस वर्ष गणनामा ४० हात्ती र दुई सय जनशक्ति परिचालन गरिएको थियो । गैँडा गणनामा संलग्न एक माउते पुलिसराम चौधरीको बर्दियामा बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।