बर्दियाका नरभक्षी बाघ चिडियाखानाको खोरमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बर्दियाका नरभक्षी बाघ चिडियाखानाको खोरमा

ललितपुर, २४ चैत। बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुर स्थित सदर चिडियाखानामा ल्याइएको छ ।

निकुञ्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई मंगलबार बिहान ललितपुरको जावलाखेल स्थित केन्द्रीय सदर चिडियाखनामा ल्याएको हो । आइतबार गैँडा गणना गरी फर्कने क्रममा हात्तीलाई खुवाउन घाँस काटदै गरेको अवस्थामा हात्तीसारका कर्मचारी ३४ वर्षीय पुलिसराम थारुको सोही बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

निकुञ्जका कर्मचारीलाई मारेपछि उक्त बाघलाई डार्ट हानेर नियन्त्रणमा लिईएको थियो । १० वर्षको उक्त भाले बाघलाई बर्दियाबाट गाडीमा हालेर ललितपुर ल्याइएको हो ।

बर्दियाबाट ल्याइएको बाघलाई चिडियाखानामा राख्ने क्रममा आयोजित कार्यक्रममा बोल्दै वनमन्त्री प्रेमबहादुर आलेले जङ्गली जनावरको आक्रमणबाट हुने घटनाहरु दोहोरिन नदिनका लागि राष्ट्रिय निकुञ्जहरुमा पर्खाल लगाउने अथवा विद्युतीय तारबार गर्नुपर्ने बताए । त्यसका लागि आफूले अर्थमन्त्रीसँग बजेट विनियोजन गर्ने विषयमा कुराकानी गरेको पनि स्पष्ट पारे ।

बर्दिया राष्ट्रिय निकुञ्जको छेउमै बस्ती भएकाले त्यहाँ करिब १० किलोमिटर आरसीसी पर्खाल लगाउन आवश्यक देखिएको मन्त्री आलेले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र र खाता जैविक मार्ग वरपर केही महिना यता सिलसिलाबद्ध रुपमा बाघले मानिसमाथि आक्रमण गरिरहेको छ । यसै आर्थिक वर्षमा मात्रै १० जना मानिसको मृत्यु बाघको आक्रमणबाट भएको छ । जसमध्ये ३ वटा निकुञ्ज भित्र, ५ वटा जैविक मार्ग क्षेत्रमा र २ वटा मध्यावर्ति क्षेत्रको जङ्गलमा घटना घटेको राष्ट्रिय निकुञ्ज तथा वन्यजुन्तु संरक्षण विभागले जनाएको छ ।

बर्दिया निकुञ्जले अहिलेसम्म ४ वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);