दीपकलाल श्रेष्ठ
बर्दिया, चैत्र २३ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्न गएको टोलीमाथि पाटे बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।
गणक टोलीमध्ये एक ठाकुरबाबा नगरपालिका–९ बस्ने निकुञ्ज मै कार्यरत पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो । आइतबार साँझ राष्ट्रिय निकुञ्जभित्र गैँडा गणना गर्ने क्रममा हात्तीका माउते चौधरीको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन बिष्णु प्रसान श्रेष्ठले बताए ।
हात्ती चढेर गैँडा गणनाको कार्यमा संलग्न चौधरीलाई हात्तीबाट भुईँमा झरेका बेला बाघले आक्रमण गरी लगेको हो । उनको शव घटनास्थलभन्दा केही पर फेला परेको वार्डेन श्रेष्ठले जानकारी दिए ।
आक्रमण गर्ने बाघलाई आइतबार नै नियन्त्रण लिइसकिएको छ ।
यस क्षेत्रमा पटक पटक बाघको आक्रमणमा परी पछिल्लो समय मात्रै एघार जनाले ज्यान गुमाइसकेका छन्।
बाघको आक्रमणका कारण गैँडा गणना सोमबारका लागि स्थगित गरिएको वार्डेन श्रेष्ठले जानकारी दिए।




