नेताहरुको दिल्ली दौडका पछिको अभिष्ट उपचार मात्रै कि राजनीति पनि ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

नेताहरुको दिल्ली दौडका पछिको अभिष्ट उपचार मात्रै कि राजनीति पनि ? (भिडियाेसहित)

यतिबेला पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आफ्नो स्वास्थ परिक्षणका लागि दिल्लीमा हुनुहुन्छ । पेटमा रहेको न्युरो ईण्डोक्राईनको उपचारका लागि आजै उहाँ भारतको राजधानी नयाँ दिल्ली स्थित इण्टिस्च्युट अफ लिवर एण्ड बाईलरी साईन्सेजमा भर्ना हुनुभएको हो । भट्टराई मात्रै होइन, खोजी गर्दै जाने हो भने उपचारार्थ विदेश खासगरि भारतको दौडाहामा जाने नेपाली राजनीतिज्ञको लामै सूची तयार हुन सक्दछ ।

सामान्य नागरिकको कुरा अर्कै हो तर, सत्तामा पुगेका र सत्ताको नेतृत्व समेत गरेका ब्यक्तिहरु नै सामान्य उपचारका नाममा विदेश दौडनुले नेपालको चिकित्सा क्षेत्र र संलग्न चिकित्सकहरुको क्षमता र दक्षतामाथी नै यतिबेला प्रश्न उठ्न थालेको छ । मुलुक बनाउने प्रतिबद्धता बोकेका र पटकपटक सत्तामा पुगेर मुलुकको जिम्मेवारी हाँकेका ब्यक्तिको यस्तो विदेशी चिकित्साप्रतिको बढ्दो मोहले चिकित्सा क्षेत्रमै संलग्न जनशक्तिको आत्मसम्मानमा समेत चोट पु¥याएको भन्दा अन्यथा नहोला ।

नेपालको हालको चिकित्सा क्षेत्र विश्वमै कठिन मानिएका कतिपय जटिल प्रकृतीका रोगहरु समेतको उपचारमा सक्षम छ भन्ने कुरा प्रमाणित नै छन् । केही समय अगाडि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटकको मिर्गौलाको सफल प्रत्यारोपण नेपालमै गराउनु भएको थियो, त्यो पनि सरकारी अस्पतालमा । मिर्गौला प्रत्यारोपण जस्तो विश्वमै जटिल मानिएको उपचार विधीलाई सफलतापुर्वक सम्पन्न गर्ने क्षमता राख्ने चिकित्सक भएको मुलुकमा पेट दुखाईको उपचार गर्नै नसक्ने चिकित्सक र उपचार सुविधा छैन भन्ने तर्क पत्याउन सकिने कुरो हैन ।

योसँगै, सरकारी अस्पतालमा प्राप्त हुने यस प्रकारका जटिल उपचार अर्बौं लगानी सहित आधुनिक प्रविधिसहित नेपालमा खुलेका अन्य अस्पतालले गर्न नसक्लान भनेर भन्न सकिने स्थिती छैन । भर्खरै मात्र काठमाण्डौकै एक नीजि अस्पतालले महिलाको स्तनमा हुने क्यान्सरको स्तन काटेर नफ्यालीकनै सफल उपचार गरेको समाचार सार्वजनिक भएको छ । तर, यि यावत कुरालाई नजर अन्दाज गरेर जनताकै मार्गद्रष्टा बनेकाहरु भने उपचारका नाममा दिल्ली दौडमा लागेको घटनालाई सहजरुपमा भने हेर्न सकिन्न । कतिपयले उपचारका नाममा नेताहरुबाट हुने र भई आएको दिल्ली दौडलाई मात्रै उपचारमा सिमित भने गरेका छैनन् ।

यसघिका घटनाक्रमहरुलाई हेर्ने हो भने, नेपालमा जबजब राजनैतिक किचलो मच्चिन्छ, तब तब नेपालका नेताहरु उपचार र तीर्थाटनका नाममा दिल्ली दौडेका र फिर्ती हुन्छन् । ती भ्रमणबाट उनिहरुमा देखिने वैचारिक परिवर्तनले राजनीतिकै दिशा परिवर्तन हुने गरेको पाईएको बिषय नौलो हैन । र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसँग दुई तिहाई नजिकको बहुमत रहेकै बेला गरिएको प्रतिनीधि सभा विघटन पछि मुलुकको राजनीति कचल्टिएको छ ।

यस्तोमा पुर्व प्रधानमन्त्री भट्टराईको उपचार भ्रमणलाई पनि अर्थपुर्ण ढंगले हेर्न सकिन्छ । भलै, डा. भट्टराईले “आफु आफ्नो शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?’ भनेर आफ्नो यो भ्रमणलाई कारुणिक बनाउने प्रयास आफ्नो ट्वीट मार्फत जनाएका छन् । योसँगै ट्विटमार्फ उनले घुमाउरो शैलीमा नेपालको चिकित्सा प्रणाली माथी नै उसको क्षमता र दक्षतालाई लिएर अविश्वास रहेको समेत दर्शाएका छन् ।

नेपाली नेताहरुको उपचारका नाममा हुँदै आएको दिल्ली दौडाहाभित्र राजनैतिक अभिष्ट त लुकेकै छ, योसँगै यसले मुलुककै अर्थतन्त्रलाई समेत यसखाले प्रवृतीले प्रभावित बनाएको कुरालाई समेत नजरअन्दाज गर्न सकिन्न । भारतको दिल्ली लगायतका ठुला शहरमा खुलेका महंगा अस्पतालका लागि यतिबेला नेपाली नेताहरु मार्केटिंग एजेण्टजस्ता बन्दै गएका छन् ।

उनिहरुले आफुले उपचार गराएको अस्पताल र चिकित्सकका बारेमा सामाजिक सञ्जालमा ब्यक्त भावना यतिबेला ति अस्पताल र त्यहाँ कार्यरत चिकित्सकका लागि निशुल्क विज्ञापन बन्न थालेका छन् । जसले आम नेपाली जो सक्षम पनि छ, उसका लागि नेताहरुबाट सामाजिक सञ्जालमा अस्पताल र चिकित्सकका नाममा ब्यक्त गरिने अभिब्यक्ती उपभोगको सामग्री बन्ने गरेको तथ्यलाई नजरअन्दाज गर्न सकिन्न । जसका कारण महिनै पिच्छे करोडौं रकम स्वास्थ उपचारका नाममा भारत जाने गरेको तथ्य जगजाहेर नै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);