काठमाडौं, २९ माघ । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाले सहज जित निकालेका छन् । बिहीबार विराटनगर महानगरपालिकालाई ७–० गोल अन्तरले हराएर आर्मीले जारी लिगमा सातौं जित निकालेको हो ।
ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला बिकले २–२ गोल गरिन् यस्तै सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक एक गोल रह्यो ।
जितसँगै आर्मीले शीर्ष स्थानको एपीएफमाथि दबाब कायम राखेको छ । दोस्रो स्थानको आर्मीले ९ खेलमा २२ अंक जोडेको छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ बिहीबार नै भएको खेलमा वालिङ नगरपालीकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोल अन्तरले पराजित गरेको छ ।
वालिङको जितमा क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गरिन् । यस्तै क्यामरुनकै टौटा ओरनेला नोईलीले दुई गोल गरिन् चौदण्डीकी अन्जना थुलुङले एक गोल फर्काईन् । लिगमा यो वालिङको चौंथो जित हो ।
जितसँगै वालिङले ९ खेलमा १८ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।




